काठमाडौं । शारीरिक सुगठनको विश्वकप मानिने मिस्टर ओलम्पियाको प्रो क्वालिफायर नेपालमा आयोजना हुने भएको छ । आईएफबिबि लिग नेपालले आयोजना गर्ने प्रतियोगिता फागुन ३ गतेबाट ४ गतेसम्म काठमाडौंमा हुने पक्का भएको हो ।
नेपालमा पहिलो पटक आयोजना हुन लागिएको प्रतियोगिता आइएफबिबि प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप नामले सञ्चालन गरिदैछ ।
प्रतियोगितामा विश्वभरका एक सय बढी बडिबिल्डरले प्रतिस्पर्धा गर्नेछन् । सहभागिले ४ स्पर्धामा प्रो कार्डका लागि नेपालमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा मेन्स फिजिक, मेन्स क्लासिक फिजिक, मेन्स बडिबिल्डिङ र महिलातर्फको ओमन फिजिक स्पर्धा समावेश गरिएको छ ।
प्रतियोगितामा नेपाल सहित अमेरिका, बेलायत, फ्रान्स, इटाली, चीन, जापान, रुस, भारत, साउदी अरब, पाकिस्तान, बंगलादेश लगायतका २० देश बढीका खेलाडी सहभागि हुनेछन् । शारीरि सुगठनको विश्वकप मानिने मिस्टर ओलम्पिया खेल्न छनोट चरण पार गर्नुपर्ने नियम छ । त्यही छनोट चरण अर्थात प्रो क्वालिफायर नेपालमा आयोजना हुन लागेको हो ।
रोली विङ्कलार नेपाल आउने ।
विश्व बडिबिल्डिङका विश्व प्रशिद्व खेलाडी रोली विङ्कलार नेपाल आउने भएका छन् । यस बर्षका ‘आर्नोल्ड क्लासिक’ विजेता विङ्कलार फेब्रुअरी १४ मा नेपाल आउने भएका छन् । नेदरल्याण्डमा जन्मिएका विङकलार अमेरिकामा बस्दै आएका छन् ।
विश्वका सबै भन्दा ठुलो ज्यान भएका व्यक्ति भनेर चिनिने विङ्कलर फेब्रुअरीमा १७ मा स्वदेश फर्कनेछन् ।