काठमाडौं । कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुदमा २४ खेल मात्र आयोजना गर्न सकिने बताएको छ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको कर्णाली प्रदेशले पूर्वाधार र ब्यवस्थापनका हिसाबले २४ खेलमात्र कर्णाली प्रदेशमा सम्भव भएको बताएको हो ।
राष्ट्रिय खेलकुद परिषदले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको सन्दर्भमा बिहीबार सातै प्रदेशका सदस्य सचिवलाई बोलाएर तयारी बैठकको आयोजना गरेको थियो ।
कार्यक्रममा कर्णाली प्रदेशले २४ खेल मात्र दशौं राष्ट्रिय खेलकुदमा सञ्चालन गर्न सकिने बताएको हो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सन्जेलले दशौंमा २४ खेल कर्णाली प्रदेशमा आयोजना गर्न सकिने बताए । उनले २४ खेललाई समावेश गरेर खेल आयोजनाको स्थल र खेलको तालिका बैठकमा प्रस्तुत गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुदमा समावेश भएका ३६ खेल मध्य प्याराग्लाईडिङ बाहेकका ३५ खेल दशौं राष्ट्रिय खेलकुदमा प्रस्ताव गरेको छ । तर कर्णालीले खेल संख्या घटाएर २४ खेलमात्र दशौंमा समावेश गर्नुपर्ने प्रस्ताव अघि सारेको हो ।
हेर्नुस कर्णालीले प्रस्तुत गरेको खेल स्थल र खेल तालिका
बैठकमा सदस्य सचिव सन्जेलले स्थानीय यातायात र खाना बसोबासको व्यवस्थापन आयोजक प्रदेशको हिसाबले कर्णाली प्रदेशले गर्ने र खेल स्थल सम्मको यातायात र खेल पोशाकको व्यवस्थापन सम्बन्धित प्रदेश र विभागले गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
सदस्य सचिव सन्जेलले दशौंमा सहभागी हुने खेलाडीलाई अतिरिक्त पकेट मनीको व्यवस्था गर्न निर्देशिका संशोधन प्रस्ताव बैठकमा राखेका थिए ।
दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने तयारी छ ।