काठमाडौं । 'ए' डिभिजन क्लब रुस्लान थ्री स्टारले मिडफिल्डर निराजन खड्का र डिफेन्डर विष्णु सुनुवारलाई रिलिज गर्ने निर्णय गरेको छ ।
मोफसल सहित सहिद स्मारक ए डिभिजन लिग खेलेका दुवै खेलाडीलाई थ्री स्टारले रिलिज गर्ने निर्णय गरेको हो ।
निराजनको कप्तानीमा थ्री स्टारले गत सिजन मोफसलका प्रतियोगिता समेत खेलेको थियो । बिक्रम लामा घाईते भएपछि उनैले टोलीको नेतृत्व गर्दै आएका थिए ।
करिब ८ महिनाको विश्रामपछि मैदान फर्किएका बिक्रम लामाको नेतृत्वमा थ्री स्टारले सहिद स्मारक ए डिभिजन लिग खेलेको थियो ।
‘दुई खेलाडीलाई रिलिज पत्र दिएका छौ । विष्णुले खप्तड गोल्डकप समेत खेलेका छन् । निराजनलाई आज रिलिज पत्र दिएका छौ ।’ क्लबका अध्यक्ष अरुणमान जोशीले खेलपाटीसंग भने ।
तर दुई खेलाडीलाई रिलिज गर्नुको कारण भने क्लबले खुलाउन चाहेको छैन ।
शीर्ष डिभिजनको लिगमा अपेक्षा अनुसारको नतिजा ल्याउन नसकेपछि थ्री स्टारले टिममा केही फेरबदल गरेको छ । उसले भर्खरै मात्र राष्ट्रिय टिमका दुई डिफेन्डर अनन्त तामाङ र दिनेश राजवंशीलाई क्लबमा अनुबन्धन गरेको छ ।
अनन्तले थ्री स्टारमै रहदाँ मनाङसंग सम्झौता गरेका कारण लिग खेल्न पाएका थिएनन् ।