एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडालले ब्रिटिस खेलाडी एन्डी मर्रेको सन्यास घोषणा उपयुक्त निर्णय रहेको बताएका छन् ।
नाडालले चोटका कारण मर्रे निकै पीडित रहेको कारण मर्रेको सन्यास घोषणा उपयुक्त रहेको बताएका हुन् । अष्ट्रेलिया ओपन खेल्न मेलबर्न पुगेका ३१ बर्षिय मर्रेले शुक्रबार विम्बल्डन टेनिसपछि खेल जीवनबाट सन्यास लिने घोषणा गरेका थिए ।
'पक्कै पनि यो दुखद समचार हो । तर, उनले टेनिस करियरमा सबै उपलब्धि हासिल गरिसकेका छन्,' नाडालले भने, 'एन्डी सम्भवत लामो समय टेनिसमा रहन संघर्षरत छन् । यदी उसले चोट अझ राम्रो हुनसक्छ भन्ने अनुभव गर्दैन भने मानसिक स्वास्थ्यका लागि उनले राम्रो निर्णय गरे ।'
पछिल्लो २० महिनायता हिप इन्जुरीको कारण मर्रे समस्यामा रहेका छन् । जसको कारणले मर्रेले सन्यास घोषणा गरेका थिए ।
यस्तै नाडालले मर्रेको सन्यासले विश्व टेनिसमा ठुलो नोक्सान भएको बताए ।
'एन्डीको सन्यास हामी र विश्व टेनिसका लागि ठुलो नोक्सान हो । टेनिस टुर र समर्थकको लागि पनि । उ एक उत्कृष्ट खेलाडीका लागि उत्कृष्ट प्रतिद्वन्द्वी थिए । तर, यो जीवन हो,' नाडालले भने ।