काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एथ्लेटिक्स संघको निर्वाचन छिट्टै प्रारम्भ हुने बताएका छन् ।
एथ्लेटिक्स परिवार नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको गोल्डेन एथ्लेटिक्स मिट कार्यक्रमको उद्घाटन गर्दै सदस्य सचिव घिसिङले विगठन अवस्थामा रहेको संघको निर्वाचन प्रक्रिया छिट्टै आरम्भ हुने बताए ।
समयमै निर्वाचन गर्न नसकेपछि एथ्लेटिक्स विगठनको अवस्थामा छ । संघको नेतृत्वको असक्षमताका कारण एथ्लेटिक्स संघ कोमामा पुगेको जस्तो अवस्थामा छ ।
उनले एथ्लेटिक्स संघसँगै निर्वाचन हुन नसकेका १७ १८ वटा संघको निर्वाचन समेत चाँडै हुने बताए ।
‘म परिषद्मा आउँदा २ सय भन्दा बढीको हारीहारीमा राष्ट्रिय खेल संघ थिए । निर्वाचन कुन चराको नाम हो जस्तो थियो । अहिले ६१ राष्ट्रिय खेल संघ कायम गरिएको छ । ४३ वटाको निर्वाचन भएको छ । बाँकीको निर्वाचन हुन सकेको छैन । ती भित्र एथलेटिक्स संघ पनि परेको छ । म यहाँहरुलाई के विश्वास दिलाउन चाहन्छु भने एथलेटिक्स संघको निर्वाचन प्रक्रिया पनि छिट्टै आरम्भ हुनेछ ।’ सदस्य–सचिव घिसिङले भने ।
‘सामान्तय परिषद्ले कुनैपनि संघमा हस्तक्षेपकारी कदम चालेको छैन । मैले संघहरुलाई व्यवस्थित बनाउनका निम्ति ध्यानाकर्षण गराउने काम भने गरेको छु । त्यसलाई हस्तक्षेप मान्नु भएन । एउटा विधिमा हिडाउनका निमित्त मात्र कोसिश गराएको हुँ । त्यो एउटा सत्प्रयासका बीचमा ४३ वटा संघको निर्वाचन हुँदो रहेछ भने बाँकी संघको पनि निर्वाचन सम्भव तुल्याइ छाड्ने छु ।’ उनले थपे ।