एजेन्सी । जर्मन विश्वकप, २००६ । इंग्ल्यान्ड भर्सेस उरुग्वे । उरुग्वेको आत्मघाती गोल, इंग्ल्यान्ड विजयी । इंग्ल्यान्डले विश्वकपको समूह चरणमा पछिल्लो पटक जितबाट प्रतियोगिता सुरुवात गरेको त्यहीँ हो ।
इंग्ल्यान्डले पुन समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्न १२ बर्ष लगाएको छ । इंग्ल्यान्डले रुस विश्वकपको पहिलो खेलमा जित निकाल्दै १२ बर्षपछि जितबाट विश्वकपको सुरुवात गरेको छ । र, पहिलो खेलमा ट्युनिसियालाई हराएको इंग्ल्यान्ड आइतबार साँझ डेब्यु टोली पानामाविरुद्ध मैदान उत्रदै छ ।
जर्मन विश्वकपमा दोस्रो खेलमा इंग्ल्यान्डले ट्रिनिडाड एण्ड टोबाकोलाई २ – ० ले हराएको थियो । अन्तिम खेलमा स्विडेनसँग २ – २ को बराबरी खेलेको इंग्ल्यान्डले अन्तिम १६ मा इक्वेडरलाई १ – ० ले नै हराएर क्वाटरफाइनलमा पुगेको थियो । क्वाटरफाइनलमा भने इन्ग्लिश टोली पोर्चुगलसँग पेनाल्टी सुट आउटमा स्तब्ध बनेको थियो ।
नोभगोरोड स्टेडियमा पानामाविरुद्ध मैदान उत्रदा थ्री लायन्स टोलीको लक्ष्य जर्मन विश्वकपलाई ब्रेक गर्नु हुनेछ । १२ बर्षपछि खोला फर्कन्छ भन्ने उखान जस्तै इन्ग्लिश टोली रुस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । त्यसैले पानामा विरुद्ध इंग्ल्यान्डको लक्ष्य मात्र ३ अंक जोड्नु हुनेछ ।
तर, विश्वकपमा डेब्यु टोली पानामाविरुद्ध इंग्ल्यान्डलाई सहज भने हुने छैन । पानामाको छनोट यात्रा र पहिलो खेलमा देखाएको प्रदर्शन हेर्दा इन्ग्लिश टोलीलाई कठिन हुनेछ । यो कुराको ख्याल इन्ग्लिश प्रशिक्षक टिम साउथगेटले पनि गरेका छन् ।
'उनीहरु अविश्वसनीय गर्विलो राष्ट्र हो । उनीहरूको विश्वकप छनोट उल्लेखनीय थियो । अमेरिका जस्ता राष्ट्रलाई हराएर पाएको यो सफलता एक अविश्वसनीय उपलब्धि हो,' इन्ग्लिश प्रशिक्षक साउथगेटले भने, 'हामीलाई थाहा छ कि हाम्रो लागि यो कठिन खेल हुनेछ ।'
पानामाविरुद्ध मैदान उत्रदा इन्ग्लिश टोलीका मुख्य हतियार ह्यारी केन हुने छन् । ट्युनिसियासँग खेलमा केनले २ गोल गरेपछि इंग्ल्यान्डले २ – १ को जित निकालेको थियो । इन्ग्लिश मिडफिल्डर डेली अली आजको खेलमा देखिने छैनन् । तिघ्राको इन्जुरिको कारण उनले पानामाविरुद्ध खेल गुमाउने छन् ।
यता, विश्वकपको डेब्यु खेलमै उत्कृष्ट खेलेको पानामा इंग्ल्यान्डलाई रोक्दै पहिलो अंक जोड्न चाहन्छ । बेल्जियमसँग जुझारु प्रदर्शन गरेको पानामा अर्को अविश्वसनीय प्रदर्शन गर्न चाहन्छ । पानामाको लक्ष्य समूह चरण पार गर्नु हुनेछ । त्यस्तो नभएमा कम्तिमा अंक जोडेर घर फर्कन चाहन्छ ।
पानामाले आफ्नो शिकार इन्ग्लिश टोलीलाई बनाउन चाहन्छ । इन्ग्लिश टोलीविरुद्ध पानामालाई सहज छैन । तर, पहिलो खेलमा देखिएको गोलको खडेरी तोड्न चाहन्छ पानामा । पानामाले इन्ग्लिश टोलीलाई रोक्न रणनीति तयार गरिसकेको प्रशिक्षक हर्नान डारियो गोमेजले बताएका छन् ।
पानामा प्रशिक्षक गोमेजले भनेका छन्, 'यो खेल धेरै कठिन खेल हुनेछ । इंग्ल्यान्ड एक उत्कृष्ट टोली हो । प्राविधिक रुपमा उनीहरु निकै सबल छन् । तर, दुई रणनीतिले टोलीलाई सफलता दिन्छ । एक व्यक्तिगत प्रदर्शन र तपाई कति दिन सक्नु हुन्छ।'