काठमाडौं । सरकारले ई स्पोर्ट्सको अन्तराष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने गरि बजेटको बिनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आधुनिक खेलको रुपमा विकास भैरहेको ई स्पोर्ट्सको अन्तराष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने गरि बजेटको घोषणा गरेको हो ।
युवा तथा खेलकुद मन्त्रालय स्रोतका अनुसार ई स्पोर्ट्सको एसियन च्याम्पियनसिप आयोजना गर्ने गरि बजेटको प्रस्ताव गरिएको थियो । प्रस्तावित बजेटमा ५० लाख रुपैयाँको राखिएको छ ।
पछिल्लो एसियन गेम्समा पदकको सम्भावना बोकेको खेलको रुपमा नेपालले ई स्पोर्ट्स खेलमा खेलाडीलाई सहभागी गराएको थियो । पदकको नजिक पुगेर खेलाडीहरु सफलताबाट बिमुख बनेका थिए ।
सरकारले ई स्पोर्ट्स खेलको विकासका लागि भर्खरै मात्र आधिकारिक रुपमा ई स्पोर्ट्स संघ नेपालको गठन गरेको छ ।
संस्था गठन पश्चात ई स्पोर्ट्स संघ नेपालले सरकारसँग राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितादेखि पूर्वाधार विकासमा गर्न सकिने कामका विषयमा निरन्तर छलफल र लबिङलाई अघि बढाएको छ ।