काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षका लागि खेलकुदमा बजेट बढाएको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड रुपैयाँ बजेट बिनियोजन गरेका हुन् ।
खेलकुदमा बिनियोजित बजेटमा १ अर्ब ३० करोड रुपैयाँ खेलकुद पूर्वाधारमा बिनियोजन गरिएको अर्थमन्त्री पुनले जानकारी दिए ।
नयाँ आर्थिक वर्षमा नेपालमा एसियन लेभलको ई स्पोर्ट्स च्याम्पियनसिपको आयोजना गर्नेदेखि कर्णाली प्रदेशमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता बजेटमा समावेश छ ।
अर्थमन्त्री पुनले दशौं राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपैयाँ बजेट बिनियोजन गरिएको जानकारी दिए ।
यस्तै, मुलपानी क्रिकेट मैदान र विराटनगरको गिरिजाप्रसाद क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्नेदेखि भरतपुरको क्रिकेट रंगशालालाई स्थानीय, प्रदेश र संघीय सरकारको साझेदारीमा निर्माण सम्पन्न गरिने अर्थमन्त्री पुनले जानकारी दिए । उनले कीर्तिपुर मैदानको स्तरोन्तीदेखि धनगढीको फाप्ला क्रिकेट मैदानको निर्माण कार्य सुरु गर्ने गरि बजेट बिनियोजन गरिएको बताए ।
सरकारले ओलम्पिक र एसियन गेम्सका लागि राष्ट्रिय टिमको तयारी गर्नेदेखि राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन गर्ने गरि बजेट बिनियोजन गरिएको बताएको छ ।
नयाँ आर्थिक वर्षमा राष्ट्रिय स्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने गरि बजेटको व्यवस्था गरिएको छ ।
आधुनिक खेलको रुपमा विश्वभर लोकप्रिय रहेको ई स्पोर्ट्सको अन्तराष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने गरि सरकारले बजेटको बिनियोजन गरेको छ ।
सरकारले चालू आर्थिक वर्ष अर्थात २०८०÷८१ का लागि २ अर्ब ८६ करोड ५९ लाख रुपैयाँ बजेटको बिनियोजन गरेको थियो ।