काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले काठमाडौंको मुलपानी क्रिकेट एकेडेमी तथा रंगशाला निर्माणलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट प्रस्ताव गरेको छ ।
मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा मुलपानी क्रिकेट रंगशालामा निर्माणमा ५० करोड रुपैयाँ प्रस्ताव पेश गरेको छ ।
मन्त्रालयले पुँजीगततर्फ झण्डै १ अर्ब २१ करोड रुपैयाँ बजेटको प्रस्ताव गरेको छ । जसमा झण्डै आधा रकम मुलपानी क्रिकेट रंगशाला निर्माणमा रहेको छ ।
पूर्वाधार निर्माणमा क्रिकेट प्राथामिकतामा पर्दा मोरङ्गको बैजनाथपुरस्थित गिरिजा प्रसाद कोईराला क्रिकेट रंगशाला निर्माणमा १० करोड रुपैयाँको बजेट मन्त्रालयबाट प्रस्ताव भएको छ ।
खेलकुद मन्त्रालयले कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाईट तथा स्कोर बोर्ड जडानमा २० करोड रुपैयाँ प्रस्ताव गर्दा स्पोर्ट्स साईन्स ल्याब स्थापनाका लागि सामाग्री खरिदमा ३ करोड रुपैयाँ बजेट प्रस्ताव गरेको हो ।
मन्त्रालयले स्थानीय तहमा सशर्त अनुदान प्रदान गरिने आयोजना अन्तर्गत १५ वटा स्थानमा खेलकुद पूर्वाधार निर्माणका लागि बजेट प्रस्ताव गरेको छ । जसमा प्रत्येक पूर्वाधार आयोजनालाई समान रुपमा १ करोड ५ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
मन्त्रालयले पूर्वाधार अर्थात पुँजिगततर्फ १ अर्ब २१ करोड ९४ लाख रुर्पयाँको बजेट अर्थमन्त्रालयमा बजेटका लागि प्रस्ताव गरेको हो ।
युवा तथा खेलकुद मन्त्रालयले कार्यक्रमतर्फ २५ करोड रुपैयाँ बजेटको प्रस्ताव गरेको छ । जसमा मिसन २०२६ एसियन गेम्सको विशेष प्रशिक्षण कार्यक्रमका लागि २ करोड ५० लाख बजेट प्रस्ताव गरिएको छ ।
मन्त्रालयले चालू खर्चतर्फ १ अर्ब ३ करोड ७६ लाख रुपैयाँ बजेटको प्रस्ताव गरेको छ ।