काठमाडौं । विद्यालय खेलकुदको विकास र प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यसहित ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमी र नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) बीच शुक्रबार सम्झौता भएको छ ।
रेडियन्टका संस्थापक प्रिन्सिपल डिके ढुंगाना र एनएसएसएफका महासचिव समेत रहेका अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासंगै रेडिअन्टले आईएसएफको स्वीकृतिमा एनएसएसएफको आधिकारिक सदस्यताको मान्यता पाएको छ ।
सम्झौता अनुसार रेडियन्टलाई आईएसएफको खेलकुद गतिविधिका साथै शैक्षिक र सांस्कृतिक कार्यक्रमका लागि विश्वव्यापी मञ्च उपलब्ध गराउने, आईएसएफको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रथम पक्ष एनएसएसएफ मार्फत सीधै सहभागी हुन पाउने, आईएसएफको अन्तर्राष्ट्रिय मञ्चमा विद्यालयको झण्डा र लोगो प्रयोग गर्न पाउने, आईएसएफ र एसियाली विद्यालय खेलकुद महासंघ (एएसएसएफ) को साधारण सभामा एनएसएसएफको प्रतिनिधिसंगै सहभागी हुन पाउने, विद्यालय खेलकुदको गतिविधिलाई प्रवर्द्धनमा क्रियाशिल हुने पर्नेलगायतका विषयवस्तु समावेश छन् । सम्झौता बढी ३ वर्षसम्म कायम रहने छ ।
सम्झौतापछि महासचिव कार्कीले आईएसएफबाट स्वीकृति प्राप्त सदस्यता आबद्धताको प्रमाण पत्र संस्थापक प्रिन्सिपल ढुंगानालाई हस्तान्तरण गरेका थिए ।
संस्थापक प्रिन्सिपल ढुंगानाले विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थासंग आबद्ध भएपनि खेलकुदको अन्तर्राष्ट्रिय संस्थासंग रेडियन्ट पहिलोपटक आबद्ध भएको जानकारी गराए । उनले रेडियन्टले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने प्रमुख माध्यम मध्येको एक खेलकुदलाई विशेष प्राथमिकता दिदै आएको बताउदै एनएसएस मार्फत आईएसएरसंग जोडिन पाउँदा खुशी व्यक्त गरे ।
महासचिव कार्कीले एनएसएसएफसंग आबद्ध भएको विद्यालय परिवारलाई धन्यवाद दिदै आबद्धताले खेलकुदका अलावा आईएसएफको विभिन्न सोलिडारिटी परियोजनामा पनि सहभागी हुन पाउने बताए ।