एजेन्सी । फिफा विश्वकप फुटबलमा साबिकको बिजेता जर्मनीले पहिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा स्विडेनलाई २-१ ले हराउदै १० खेलाडीमा सिमित जर्मनीले पहिलो जित हासिल गरेको हो ।
फिष्ट स्टेडियमा स्विडेनले लिएको अग्रता उल्टाएर जर्मनीले महत्वपूर्ण ३ अंक जोडेको हो । जर्मनीलाई जित दिलाउन मार्को रिउस र टोनी क्रुसले गोल गरे । स्विडेनका ओला टोईभोनेनले एक गोल फर्काए ।
पहिलो हाफको ३२ औं मिनेटमा ओला टोईभोनेनले गोल गर्दै स्विडेनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४८ औं मिनेटमा जर्मनीका मार्को रिउसले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए ।
खेलको ८२ औं मिनेटमा जेरोमी बोटेङले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा जर्मनी १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा चम्किए, टोनी क्रुस । इन्जुरी समय सकिन एक मिनेट बाँकी रहेको अवस्थामा फ्रिकिकमा उत्कृष्ट गोल गर्दै क्रुसले जर्मनीलाई २ - १ को जित दिलाए ।
यो जितसँगै समूह एफ मा रहेका जर्मनीले ३ अंक जोडेको छ । र, विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । पहिलो खेलमा जर्मनी मेक्सिकोसँग १ - ० ले पराजित भएको थियो । स्विडेनको यो पहिलो हार हो । समुहको तेस्रो स्थानमा रहेको स्विडेनले दक्षिण कोरियालाई हराएको थियो ।
यो समूहको शीर्ष स्थानमा मेक्सिको रहेको छ । दुई खेल जितेको मेक्सिकोको ६ अंक छ । दुई खेल हारेको दक्षिण कोरिया भने बाहिरिएको छ ।