काठमाडौं । सरकारले ई स्पोर्ट्सको अन्तराष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सरकारले आधुनिक प्रविधियुक्त ई स्पोर्ट्सको अन्तराष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने घोषणा गरेको हो ।
मंगलबार संसद बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ आर्थिक वर्षमा खेलकुदतर्फ अन्तराष्ट्रिय स्तरको ई स्पोर्ट्सको प्रतियोगिता आयोजना गरिने घोषणा गरेका छन् ।
नेपाल सरकारको राष्ट्रिय खेलकुद परिषद्ले ई स्पोर्ट्स खेलको विकासका लागि आधिकारिक रुपमा ई स्पोर्ट्स संघ (ईशान) गठन गरेको छ ।
विश्व खेलकुदमा अबको भविष्यको रुपमा हेरिएका खेल विधालाई प्राथमिकतामा राख्दै सरकारले अन्तराष्ट्रिय स्तरको ठुलो प्रतियोगिता नेपालमा आयोजना गर्ने विषयलाई नीति तथा कार्यक्रममा राखेको हो ।
विभिन्न भिडियो गेमिङ कम्पनी र नीजि ईभेन्ट कम्पनीले ई स्पोर्ट्स संघसँग मिलेर यसै वर्ष जेठ र असार महिनामा दुई ठुलो ई स्पोर्ट्सका ईभेन्ट आयोजना समेत गर्दैछन् ।
खेलकुद मन्त्रीको रुपमा आएका युवा नेता विराजभक्त श्रेष्ठले समेत ई स्पोर्ट्सलाई प्राथमिकतामा राखेर कार्यक्रम र बजेट ल्याउने बताउँदै आएका थिए । नेपालमा ई स्पोर्ट्सको अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्नमा खेलकुद मन्त्री श्रेष्ठको समेत विशेष पहल रहेको छ ।
विश्वमा नयाँ खेल विधाको रुपमा आएको ई स्पोर्ट्सलाई नेपाल सरकारले समेत प्राथमिकतामा राखेर काम गर्न खोजेको देखिन्छ ।