काठमाडौँ। युवा तथा खेलकुद मन्त्रालयले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रस्तावित समयमा सम्पन्न गर्ने गरी तयारी अघि बढाएको छ।
कर्णाली प्रदेशमा यस वर्ष आयोजना गर्ने निर्णय गरिएको दशौं राष्ट्रिय खेलकुद प्रस्तावित समयमै सम्पन्न गर्ने विषयमा मन्त्रालयले जोड गरेको हो।
दशौँ राष्ट्रिय खेलकुद यस वर्ष मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने तयारी छ। तर, विभिन्न बहानामा समयमै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना नहुने पुरानो रोग नेपाली खेलकुदको हो। सोही क्रमभंगतालाई तोड्दै समयमै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्ने मन्त्रालयले निर्णय गरेको हो।
कर्णाली प्रदेशले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको जिम्मेवारी पाएको छ। तर, राष्ट्रिय प्रतियोगिताको बजेट व्यवस्थापन तथा प्रतियोगिता सञ्चालन संघीय सरकारअन्तर्गतको राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत हुने गरेको छ।
आइतबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले तोकिएको समयमै प्रतियोगिता सम्पन्न गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ। प्रतियोगिता सञ्चालनमा राखेप र प्रदेश खेलकुद परिषद्को भूमिका सम्बन्धमा प्रदेश खेलकुद परिषद्को प्रतिनिधिसहित छलफलबाट अन्तिम रूप दिन सुझाव लिने पनि बैठकले निर्णय गरेको छ।
कर्णाली प्रदेशले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्न गइरहेको छ। प्रतियोगितालाई लक्षित गरेर कर्णालीमा झन्डै ३ अर्ब बढीको खेलकुद पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सन्जेलको नेतृत्वमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा प्रवेश गरेको छ। प्रदेश सरकारले समेत प्रदेशको गौरवको आयोजनाको रूपमा खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ। प्रदेश सरकारले समेत प्रदेशको गौरवको आयोजनाको रुपमा खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ।