बाँके । नेपालगञ्जमा भएको प्रथम मेयर कप साइकल दौड प्रतियोगिताको उपाधि बिमलेश कुमार यादवले जितेका छन् । निर्धारित ३७ किलोमिटर दुरी पुरा गर्दै उनले १५ हजार रुपैयाँ हात पारे । सञ्जय सोनकर दोस्रो तथा दीपक मल्ल तेस्रो भए ।
दुवैले क्रमश १० हजार र पाँच हजार रुपैयाँ प्राप्त गरे । प्रोफेसनल राइडर्सहरु मात्र सहभागी हुने प्रावधान रहेको ३७ किलोमिटर दुरी महिला तर्फ साया थापाले मात्र पुरा गरिन् ।
नेपालगन्ज बन कार्यालय अगाडिदेखि सुरु भएको साइक्लोथन कोहलपुर चौराह पुगेर फेरि सोही स्थानमा टुंगिएको थियो । साधारण साइकलतर्फ निर्धारित २० किलोमिटर दुरी पुरा गर्ने क्रममा पुरुष स्पर्धामा मनोज धोबी प्रथम भए, जंग थारु दोस्रो र सतिस थारु तेस्रो भए । महिला स्पर्धाम पार्वती सार्की, टिका खड्का दोस्रो र ममता गुप्ता तेस्रो भए ।
दुवै स्पर्धामा प्रथम हुनेले सात, दोस्रोले पाँच र तेस्रोले तीन हजार रुपैयाँ प्राप्त गरे । ६ किलोमिटर ट्राइसाइकलतर्फ यम बहादुर खत्री प्रथम, तेज बहादुर राना दोस्रो र जंग कामीले तेस्रो स्थान हात पारे ।
विजयी साइक्लिस्टहरुलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा, उपमेयर उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओली र नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष केशरबहादुर आलेले नगद, पदक र प्रमाणपत्रले सम्मान गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपालगन्ज साइक्लिङ क्लबले संयोजन गरेको साइक्लोथनमा १ सय ७५ जना सहभागी थिए ।