काठमाडौं । लिगको मिति घोषणा भए लगत्तै संकटा क्लब आन्तरिक छलफलमा जुट्यो ।
कस्तो टिम बनाउने ?
टिमको लक्ष्य के हुने ?
करिब ५ बर्षपछि 'ए' डिभिजन लिग सुरु हुँदै थियो । फुटबल संघ आन्तरिक विवादबाट गुज्रिदाँ गतिविधि ठप्प थिए । खेलाडी उत्पादन शुन्य थियो ।
लिग त सुरु हुने भयो, बजारमा खेलाडी थिएनन् । राष्ट्रिय टिमका अधिकांश खेलाडी ठुला क्लब थ्री स्टार र मनाङमा आबद्ध थिए ।
संकटाको फुटबल कमिटिले निर्णय गर्यो, औषत टिम बनाउने । शीर्ष ६ मा अटाउने ।
मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका सल्यान खड्गीले बजारमा उपलब्ध रहेका खेलाडी समावेश गर्दै टिम बनाए । राष्ट्रिय टिमका खेलाडी ताकेनन्, औषत खेलाडीलाई प्राथमिकतामा राखे ।
नतिजा हेर्दा, राष्ट्रिय टिमका खेलाडीले भरिएका ठुला क्लबलाई पछाडी पार्दै संकटा लिगको उपविजेता बन्न सफल भएको छ ।
औषत टोलीको नेतृत्व गरेर शीर्ष डिभिजनको पहिलो सहभागितामै प्रशिक्षक सल्यान खड्गीले ठुलो सफलता हात पारेका छन् ।
संकटाको यात्रा जति रोमाञ्चक छ, क्लबले प्राप्त गरेको सफलताका मुख्य ‘आर्किटेक्चर’ सल्यानको फुटबल कथा अझ उत्तिकै दमदार छ ।
सल्यानका बुवा कृष्ण प्रसाद खड्गी फुटबलका सौखिन थिए । कृष्ण प्रसादले टोलका युवा जम्मा पारे । केही युवाहरुको समूह बनाएर २००८ सालमा क्लबको गठन गरे । काठमाडौंका गल्ली गल्लीमा फुटबल खेलिने समय थियो । टोल टोलबीच फुटबलको घमासान प्रतिस्पर्धा हुने गर्दथ्यो ।
कृष्ण प्रसाद गोलकिपर पोजिसनबाट खेल्थे । उनका ६ छोरा भए । पाँचले फुटबल खेले । सबैले संकटाको जर्सी लगाए । केही समय अन्य क्लबमा नदेखिएका होईनन् । सबैले अधिकांश समय संकटाकै जर्सीमा फुटबल जिवन समर्पण गरे ।
‘बाबुले बनाएको क्लब, माया पनि बेशी छ । जे गरेपनि क्लबकै लागि गर्न पर्छ भन्ने लाग्छ । क्लबसंग मेरो रगतको नाता छ ।’ सल्यानले कुराको सुरुवात गरे ।
संकटाका पुर्व कप्तान सल्यान अहिले घरेलु फुटबलका ‘हटकेक’ छन् । दुई बर्ष अघि मात्र बी लाईसेन्स सकेका उनीले लिगमा अप्रत्यासीत सफलता हात पारेका छन् । औसत टिमको नेतृत्व गर्दै उनले एक खेल अगावै संकटालाई ए डिभिजन लिगको उपविजेताको रुपमा उभ्याई दिएका छन् ।
५७ सालमा उनले 'बी' डिभिजनबाट खेल यात्रा प्रारम्भ गरे । सुरुमा उनी फरवार्डबाट खेल्थे ।
६० सालमा उनी एनआरटी लागे । मुख्य प्रशिक्षक राजुकाजी शाक्यले उनलाई मिडफिल्डमा खेलाए ।
अर्को बर्ष उनी संकटामा आए । फरवार्डको रुपमा उनी अभ्यास गर्दै थिए । संकटाले जावलाखेलसंग मैत्रिपुर्ण म्याच खेल्न पर्ने भयो । प्रशिक्षक पुष्प महर्जनले उनलाई लेफ्ट ब्याक खेल्न आग्रह गरे । त्यसपछि उनलाई प्रशिक्षकले लेफ्ट ब्याकमा निरन्तर खेलाए, त्यही पोजिसनमा उनलाई स्थापित गराए । सल्यानले सेन्टर ब्याक हुँदै राईट ब्याक पोजिसनबाट खेले ।
एक समय त उनी गोलकिपर समेत बने ।
६३ को लिगमा प्रतिद्वन्दी जावलाखेल थियो । संकटा १–० ले अगाडी थियो । तीन जना खेलाडी स्थानान्तरण भएका थिए । बंगलादेशी गोलकिपर करिम घाईत हुन पुगे । खेलाडी फेर्ने अवस्था थिएन । उनले गोलकिपरको पोस्ट समाले र दुई उत्कृष्ट बचाउ गरे । खेल संकटाले जित्यो ।
६५ सालमा संकटा 'बी' डिभिजन झर्यो । त्यो क्षण उनी रुन मात्र सकेनन् ।
अन्य क्लबले उनलाई खेल्न प्रस्ताव गरे । ‘क्लब पो झरेको हो, खेलाडी झरेको होईन ।’ धेरैले सम्झाउन खोजे ।
तर उनको मनले मानेन ।
‘बुवाको क्लब हो, मैले खेल्दै गर्दा झरेको हो । मै खेलेर उकास्छु ।’ उनले उत्तर फर्काए ।
अर्को बर्ष संकटा 'ए' डिभिजनमा उक्लियो । सल्यानले कप्तानीको जिम्मेवारी पाए ।
७० सालसम्म उनले कप्तानीको रुपमा टोलीको नेतृत्व गरे ।
उनलाई २०६० सालमा यू - १९ टिमका लागि एन्फाले बोलाएको थियो । बंगलादेशमा खेल थियो । उनी टिममा पर्ने निश्चित जस्तै थियो । अन्तिम समयमा रंगशालामा अभ्यास गरेर घर फर्कने क्रममा उनले चोट बोके । अभ्यास गर्दा सामान्य अवस्थाका सल्यान घर फर्कदा हिड्न नसक्ने भए ।
दुई हप्ता अगाडीको सो घटनाले उनी टिम बाहिर भए । त्यो घटनालाई सल्यान जीवनको ठुलो पछुतो मान्छन् ।
७० सालपछि घरेलु फुटबल बन्द जस्तै भयो । भुकम्प आयो, एन्फामा नेतृत्व परिवर्तनको बहश चर्कियो । घरेलु लिग बन्द अवस्थामा थियो । उनले त्यही मेसोमा प्रशिक्षकको 'सी' र 'बी' लाईसेन्सको कोर्स पुरा गरे ।
घरेलु लिग बन्द भएपनि मोफसलमा फुटबल गतिविधि चलेका थिए । 'सी' लाईसेन्स सकेका उनलाई क्लबले मोफसलमा टोली लैजान अनुमति दियो ।
‘सी लाईसेन्स सकिनु र मोफसलमा प्रतियोगिता सुरु हुनु मेरो लगि भाग्य ठहरियो । प्रशिक्षकको रुपमा संकटाको टिम लगेर मोफसल जान पाए ।’ खड्गी प्रफुल्लित रुपमा भने ।
७३ सालको मोफसलको प्रतियोगितामा संकटाले १० वटा फाईनल खेल्यो । सिमरा, विकास रनिङ शिल्ड र तिलोत्तमा गोल्डकप गरेर उसले तीन उपाधि जित्यो ।
७४ सालको मोफसल प्रतियोगितामा उतार चढाब देखियो । क्लबको सहभागिता उल्लेख्य रहेन ।
जब ७५ सालमा लिगको घोषणा भयो, एन्फाले क्लब लाईसेन्सिङ सिस्टम लागु गर्ने बताएको थियो । त्यो अवस्थामा 'ए' लाईसेन्सले मात्र क्लब हेर्ने मौका मिल्ने थियो ।
पहिलो बर्ष एन्फाले क्लब लाईसेन्सिङ सिस्टम लागु गरेन, सल्यान भाग्यमानी ठहरिए । क्लब समाल्ने मौका पाए । पहिलो सहभागितामै क्लबलाई उपविजेता बनाउन सफल भए ।
एक समय लिगमा संकटा बलियो अवस्थामा थियो । आठौं चरणको खेलसम्म उसले शीर्ष स्थानको मनाङलाई पछ्याई रहेको थियो । त्यही समय माल्दिभ्स र ईन्डोनेशियाको लिग खेलेर किरण चेम्जोङ र रोहित चन्द नेपाल फर्किएका थिए । क्लबबाट राष्ट्रिय टिमका दुई स्टार खेलाडीको राख्ने बिषयमा प्रशिक्षक सल्यानलाई प्रस्ताव आयो ।
प्रस्तावलाई उनले ठाडै अस्विकार गरिदिए ।
उनले प्रश्न गरे, क्लबको लक्ष्य के हो ?
‘उत्कृष्ट खेलाडी र औसत खेलाडी खेलाउदाँ कमजोर खेलाडीलाई मानसिक असर पर्छ । त्यसको प्रभाव खेलमा देखिन्छ । औसत खेलाडीले शतप्रतिशत दिएर खेल्न सक्दैन । सिको गर्दा आफ्नो स्वभाविक लय बिर्सन्छ । त्यसैले टिममा नयाँ सदस्य नथपेको हुँ ।’ भेटमा उनले कारण खुलाए ।
त्यसो भए संकटाले प्राप्त गरेको सफलताको मुख्य कारण के त ?
छिटो छिटो उत्तर दिन मन पराउने सल्यानले भने, ‘क्लबको व्यवस्थापन, खेलाडी छनोट, खेलाडीको अनुशासन र टिमको एकता ।’
अन्तिममा
७२ सालको भुकम्पले सल्यानको घर बस्न लायक रहेन । टेबहालको घर भत्कियो । उनी बनस्थली सरे । उनले टोल छाडे, क्लब छाड्न सकेनन् । उनी दिनचर्या टेबहालको वरपर बित्छ ।
‘यो मेरो पुर्खा हो जन्मस्थान हो । मेरो जिवनमा फुटबल बाहेक अरु केही छैन । बसाई त सरे, तर मन सरेको छैन ।’ कुराको बिट मार्दै उनले मुस्कुराउँछन् ।
तस्विर : सल्यान खड्की फेसबुक