एजेन्सी । फिफा विश्वकप फुटबलमा बेल्जियमले ट्युनिसियालाई फराकिलो अन्तरले हराएको छ । शनिबार भएको खेलमा बेल्जियमले ट्युनिसियालाई ५ - २ गोल अन्तरले पराजित गरेको हो ।
मस्कोस्थित स्पार्टक रंगशालामा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकु र इडेन हाजार्डले दुई - दुई गोल गरे । यस्तै बेल्जियमका लागि एक गोल मिची बात्सुयाईले गरे । ट्युनिसियाका डेलन ब्रोन र वाह्बी खाज्रीले एक एक गोल फर्काए ।
खेलमा बेल्जियमले पेनाल्टी गोलबाट सुरुवाती अग्रता बनाएको थियो । बेल्जियमका इडेन हाजार्डले खेलको सातौं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ट्युनिसिया बेन युसुफले आफ्नो पेनाल्टी क्षेत्रमा हाजार्डलाई लडाएपछि बेल्जियमले पेनाल्टी अवसर पाएको हो । जसमा हाजार्डले सहजै गोल गरे ।
खेलको १६ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई २ - ० को अग्रता दिलाए । खेलको १८ औं मिनेटमा डेलन ब्रोनले ट्युनिसियाका लागि एक गोल गर्दै खेल २ - १ मा ल्याए । तर, पहिलो हाफको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३ - १ को अग्रता दिलाएका हुन् । जारी विश्वकपमा लुकाकुको यो चौथो गोल हो ।
पहिलो हाफमा ३ - १ ले अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ५१ औं मिनेटमा हाजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ४ - १ को अग्रता दिलाएका हुन् । खेलको इन्जुरी समयमा बात्सुयाईले गोल गर्दै बेल्जियमलाई ५ - १ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समय सकिन एक मिनेट बाँकी रहदा खाज्रीले एक गोल फर्काएपनि बेल्जियमले ५ - २ को शानदार जित निकाल्यो ।
यो जितसँगै समूह जी मा रहेको बेल्जियमले विश्वकपको अन्तिम १६ नजिक पुगेको छ । पहिलो खेलमा बेल्जियमले पानामालाई ३ - ० ले हराएको थियो । अब अन्तिम खेलमा बेल्जियमले यो समूहकै अर्को बलियो टोलि इंग्ल्यान्डसँग खेल्नेछ ।
लगातारको दुई हारसँगै ट्युनिसिया भने विश्वकपबाट बाहिरिएको छ । पहिलो खेलमा ट्युनिसिया इंग्ल्यान्डसँग २ - १ ले पराजित भएको थियो ।