पोखरा । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले खेलाडीको स्वास्थ्य तथा दुर्घटना विमा कार्यक्रम सुरु गरेको छ । भलिवल र क्रिकेटका राष्ट्रिय खेलाडीलाई छनोट गर्दै समितिले स्वास्थ्य तथा दुर्घटना विमाको सुरुवात गरेको हो ।
खेलाडी स्वास्थ्य तथा दुर्घटना विमाका बिषयमा धेरै बहश भएपनि आफुहरुले त्यसको सुरुवात गरेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले जनाएको छ ।
समितिले पोखरामा एक कार्यक्रमको आयोजना गरेर भलिबल मञ्जु गुरुङ र क्रिकेटका करण केसीलाई पोलेसी हस्तान्तरण गरेको हो । विमा अन्र्तगत खेलाडीलाई स्वास्थ्य विमा वापत २५ हजार र दुर्घटना विमा वापत २ लाखको प्रिमियम वापतको रकम क्षेत्रिय खेलकुदले प्रदान गर्नेछ ।
समितिका अध्यक्ष खगराज पौडेलले पहिलो चरणमा ९ खेलका ४२ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको बिमा गरिने बताए । समितिको कार्यक्रमलाई प्रुडेन्सियल इन्सोरेन्स कम्पनीको सहयोग रहने छ ।
कार्यक्रमको सुरुवात गर्दै समितीका अध्यक्ष पौडेलले खेलाडीको बिमाका बारे धेरै पटक आवाज उठे पनि त्यो पुरा हुन नसकेको बताए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुदले सानो रुपमा सुरु गरे पनि यसलाई जिल्ला तह सम्म योजनागत ढङ्गले अगाडी बढाउने उनको भनाई छ ।
कार्यक्रममा युबा तथा खेलकुद मन्त्रालयका उपसचिब जर्नादन रिजालले आगामी आर्थिक वर्षबाट मन्त्रालयले खेलाडी बिमा र जिवनवृतीका कुरा लागु गर्ने बताए ।