काठमाडौं । छैटौं संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता माघ १६ गतेदेखि सुरु हुने भएको छ ।
आयोजक मकवानपुर जिल्ला फुटबल संघले शुक्रबार हेटौडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनीक गरेको हो ।
प्रतियोगिता माघ १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने भएको छ । हेटौडास्थित गौरिटार रंगशालामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाले जानकारी दिएका छन् ।
प्रतियोगितामा ए डिभिजनका शीर्ष टोली सहित १२ क्लबको सहभागीता रहने भएको छ । प्रतियोगितामा साविक विजेता मनाङ सहित चर्च ब्वाईज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी, नेपाल पुलिस, मछिन्द्र, थ्री स्टार, बागमती, राजारानी क्लब धनकुटा, एन्फा मकवानपुर र भुटानको पारो एफसीले खेल्नेछन् ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि एक करोड ६० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यस वर्ष समेत बुलेट मोटरसाईकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्ष हिमालयन शेर्पालाई हराउँदै मनाङले प्रतियोगिताको उपाधि जितेको थियो ।