काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले पेश्की तथा बेरुजु फर्छ्योटका लागि कडा नीति अख्तियार गर्ने भएको छ ।
राखेपले गठन गरेको पेश्की तथा बेरुजू फर्छ्योट कार्यदलको प्रतिवेदन बुझ्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले कडा नीति अख्तियार गरिने बताएका हुन् ।
उनले कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
कार्यदलले बुधबार प्रतिवेदन बुझाउदै पेश्की बाँकी रहेको संस्थाहरुलाई अनुदान रोक्नका लागि सुझाव दिएको छ ।
यस्तै बैदेशिक यात्रा तथा सहभागिताका लागि सिफारिस समेत गर्न नहुने सुझावमा उल्लेख गरिएको राखेपका सदस्य एवं कार्यदलका संयोजक प्रकाशकुमार कुसारीले बताए ।
विभिन्न राष्ट्रिय संघहरुका नाममा निकै ठूलो अंकमा पेश्की रहेको भन्दै कार्यदलले फर्छ्योट नगर्ने संघ, कर्मचारी तथा पदाधिकारीलाई कार्वाहीको दायरामा ल्याउनु अनिवार्य हुने उल्लेख गरिएको छ ।
यस्तै, आर्थिक प्रशासन शाखाले पनि बेरुजु कम गराउनेतर्फ कर्मचारीहरुलाई आर्थिक कारोबार सम्बन्धी प्रशिक्षणको व्यवस्था गर्न समेत सुझाव दिएको कार्यदलका सचिव कुमार बस्नेतले बताएका छन् ।