काठमाडौं । राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा जोहान कालिनलार्ई ल्याउने तयारी गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले स्विडेनका कालिनलाई पुरुष राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक बनाउने प्रक्रिया अघि बढाएको छ ।
कालिनको बिषयमा औपचारिक निर्णय गर्न एन्फाको टेक्निकल कमिटिको बैठक आज बस्दैछ । टेक्निकल कमिटिले कालिनको नाम सिफारिस गरेपछि कार्यसमिति बैठकले प्रस्तावित नामको अनुमोदन गर्नेछ ।
एन्फाले आगामी पुस २६ गते कार्यसमितिको बैठक बोलाएको छ । सोही बैठकले कालिनको बिषयमा औपचारिक निर्णय गर्नेछ ।
‘कालिनले नेपाल आउने ईच्छा देखाएपछि उहाँलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने तयारी भएको छ । यसको औपचारिक निर्णय हुन बाँकी छ ।’ एन्फा प्रवक्ता किरण राईले खेलपाटीसंग भने ।
२०७० सालमा ए डिभिजन क्लब मछिन्द्रबाट मुख्य प्रशिक्षकको रुपमा काम गरेका काहिलले त्यो सिजन सनसनीपुर्ण नतिजा निकालेका थिए । उनकै नेतृत्वमा मछिन्द्रले दोस्रो स्थानमा रहेर लिगको समापन गरेको थियो ।
स्विडेनको तेस्रो डिभिजन क्लबबाट व्यवसायीक प्रशिक्षण सुरु गरेका उनले प्रशिक्षकको रुपमा युईएफएको बी कोर्स गरेका छन् ।
ओभर स्टे भिषाका कारण मुख्य प्रशिक्षक ग्यातुकी कोजी स्वदेश फर्किएपछि नेपालले मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई सुम्पिएको थियो । उनकै नेतृत्वमा नेपालले साफ च्याम्पियनसिप खेलेको थियो ।