भक्तपुर । आत्मरक्षा गर्ने कला सम्बन्धी एक दिने आत्मरक्षा अभिमुखिकरण कार्यक्रम भक्तपुर नगरपालिकामा सम्पन्न भएको छ । नेपाल मार्सल आर्ट्स सेल्फ डिफेन्स अर्गनाईजेसनले भक्तपुर नगरपालिकामा आत्मरक्षा अभिमुखिकरण तालिम प्रदान गरेको हो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको आत्मरक्षा अभिमुखिकरण तालिममा भक्तपुर नगरपालिकाका मेयर, उपमेयर, जनप्रतिनिधीहरु लगायत सम्पुर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो । आफुलाई बचाउने कलाको प्रदर्शन गरिएको सो कार्यक्रममा प्रशिक्षक पद्मा खयरगोलीले प्रशिक्षण दिएका थिए । यस्तै सहायक प्रशिक्षक रविन्द्र श्रेष्ठ र रोजिना लोहलाले सहयोग गरेका थिए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले मुलुकमा दिनप्रतिदिन बढ्दै गएको हत्या, हिंसा र बलात्कारबाट बच्न हरेक नागरिकले आत्मरक्षा कलाको ज्ञान सिक्नु समयको माग एवम् आवश्यकता रहेको बताए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख रजनी जोशीले अभिमुखिकरण समय सान्दर्भिक रहेको बताउदै अबको दिनमा हरेक नेपाली नागरिकले सिक्नै पर्ने कलामध्ये आत्मरक्षा कला एक रहेको बताईन्।
अर्गनाईजेसनको भक्तपुर जिल्ला उपाध्यक्ष तथा प्रशिक्षक खयरगोलीले महिला हिंसा, समस्याको पहिचान, आत्मरक्षाको आवश्यकता र उद्देश्य माथि प्रकाश पार्नु हुंदै सरकारी नियम कानुन कुर्नु भन्दा पनि महिला आफै समयमै सचेत, सबल, सक्षम र आत्मबलको लागि यो प्रशिक्षण दिइएको बताईन् ।
प्रशिक्षक खयरगोलीले महिलामा आत्मविश्वासको कमिको कारण दिन प्रतिदिन महिला हिंसा बढ्दै गएकोले नेपालको ७७ वटै जिल्लामा आत्मरक्षाको अभियान थालनी गरीसकेको जानकारी गराईन्।