काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले राखेप अन्तर्गत रहेको खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रमा खेलाडी उपचार गराउन जादा डाक्टर नभेटिए केन्द्रका चिकित्सकलाई तत्काल कारबाही गर्ने बताएका छन् ।
दीर्घायु गुरु अस्पतालको सहयोगमा केन्द्रले आयोजना गरेको प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी कक्षा तथा बृहत स्वास्थ्य परीक्षणको उद्घाटनका अवसरमा सदस्य–सचिव विष्टले सो कुरा बताएका हुन् ।
‘खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रमा उपचार गराउन जादा तपाईं राष्ट्रिय टिममा रहेका खेलाडीले डाक्टर भेटाउनु भएन भने मलाई मेरो मोबाइलमा मेसेज गरि दिनुस । सम्बन्धितलाई तुरुन्त कारबाही हुन्छ । यो वा त्यो वहानामा कसैलाई उम्कन दिन्न ।’ सदस्य–सचिव विष्टले भने ।
सदस्य–सचिव विष्टले एक दिनको शिविरले केहि नहुने कुरा आफूलाई पनि थाहा भएको बताउदै तत्काललाई सुरुआतका रुपमा शिविर थालनी गरिएको बताए । उनले अब महिनाको कम्तीमा एक दिन राष्ट्रिय टिममा रहेका खेलाडीका लागि शिविर सञ्चालन गरिने पनि जानकारी गराए ।
सदस्य–सचिव विष्टले खेलाडीको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले अभियानको सुरुआत गरिएको बताउदै राष्ट्रिय खेलाडीले अब रोग बोकेर बस्नु नपर्ने र त्यसको जिम्मा राज्यले लिने बताए । फरक प्रसंगमा सदस्य–सचिव विष्टले आउने आर्थिक वर्षमा खेलकुदको बजेट १५ अर्बको हाराहारीमा हुने बताउदै कोरियाको विश्वविद्यालयसंग खेलाडीलाई प्रशिक्षणमा पठाउन प्रकृया अगाडि बढिरहेको पनि अवगत गराए ।
हाल विशेष प्रशिक्षणमा रहेका राष्ट्रिय टिमका ४३ खेलाडी र १६ प्रशिक्षकलाई लक्षित गरी कक्षा र शिविर सञ्चालन गरिएको हो । केन्द्रले पुस १८ गते सम्पूर्ण खेलाडी, प्रशिक्षक, कर्मचारी, पदाधिकारी र खेल पत्रकारलाई लक्षित गरी एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको केन्द्रका प्रमुख तिलक नेपालीले जनाएका छन् ।
दीर्घायुका डा. सुरज बलाय श्रेष्ठले खेलाडीको उपचारमा चौबीसै घण्टा उपलब्ध रहने प्रतिबद्धता जनाए ।