काठमाडौं । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता १५ दिन सर्न सक्ने बताएका छन् ।
नेपालगञ्जमा बुधबार आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सचिवालयको उद्घाटन गर्दै सदस्य सचिव विष्टले भौतिक पूर्वाधार निर्माणमा ढिलाइका कारण फागुनको मध्यतिर प्रतियोगिता हुने बताएका छन् । यसअघि आठौं राष्ट्रिय प्रतियोगिता माघ २५ देखि फागुन ३ गतेसम्मको मिति तय भएको थियो ।
'आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माणाधीन भौतिक संरचनाको ८० प्रतिशत काम सकियो, बाँकी २० प्रतिशत पनि माघ १५ सम्म सक्ने तयारी छ,' सदस्य सचिब विष्टले भने, 'मुख्यगरी नेपालगञ्ज रङ्गशाला र दाङको बेलझुण्डी रङ्गशाला हाम्रो लागि चुनौती बनेको छ ।'
प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रङ्गशालाको प्यारापिट मलेसियामा बनिरहेकाले ढिलाइ हुनसक्ने सदस्य सचिव विष्टको भनाइ थियो ।
'अत्याधुनिक प्रविधिको रङ्गशाला बनाउन हामीले अन्तर्राष्ट्रियस्तरमा बोलपत्र गरेका थियौँ, मलेसियाको कम्पनीले कामको ठेक्का पाएको छ तर, एलसी खोल्नेलगायतका प्रक्रिया पूरा गर्दा हाम्रैतर्फबाट १५ दिन ढिला भएको छ,' सदस्यसचिव विष्टले थपे, 'सकेसम्म हामीले कम्पनीलाई क्षतिपूर्ति दिएर भए पनि १५ दिनअगावै काम सक्न अनुरोध गरेका छौंँ ।'
सदस्य सचिव विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई व्यवस्थित, पारदर्शी, विवादरहित र भव्यतासाथ सम्पन्न गर्न सचिवालय स्थापना गरिएको बताए । प्रतियोगिताको सचिवालय नेपालगञ्ज रङ्गशाला परिसरमा स्थापना गरिएको छ ।
परिषद्का सदस्य विनोद मैनाली संयोजक र प्रदेश नं ५ का अध्यक्ष भीम ओली सचिव रहने गरी सचिवालय सञ्चालनमा आएको हो ।