काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पाकिस्तानविरुद्धको खेलका लागि नेपालको सुरुआती-११ सार्वजनिक भएको छ ।
मुख्य प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनीसले किरण चेम्जोङको कप्तानीमा पाकिस्तानसँग खेल्ने सुरुआती-११ सार्वजनिक गरेका हुन् ।
नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा साविक उपविजेता नेपालले पाकिस्तानको सामना गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेको छ । त्यसैले दुई टोलीका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।
समूह 'ए' मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । पाकिस्तान २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।
पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।
यस समूहबाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेको छ । कुवेत ६ अंक जोडेर शीर्ष र ६ अंक जोडेको भारत दोस्रो स्थानमा रहेको छ ।
मंगलबार नै कुवेत र भारत भिड्ने छन् । दुई टोलीबीचको खेलपछि समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।