काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा साविक उपविजेता नेपालले पाकिस्तानको सामना गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेको छ । त्यसैले दुई टोलीका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।
समूह 'ए' मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । पाकिस्तान २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।
पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।
यस समूहबाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेको छ । कुवेत ६ अंक जोडेर शीर्ष र ६ अंक जोडेको भारत दोस्रो स्थानमा रहेको छ ।
मंगलबार नै कुवेत र भारत भिड्ने छन् । दुई टोलीबीचको खेलपछि समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
हेड टु हेड -
नेपाल र पाकिस्तान फुटबलमा चिरपरिचित प्रतिद्वन्दी हुन् ।
नेपालले हालसम्म पाकिस्तानसँग १७ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ५ खेल जितेको छ ।
पाकिस्तानविरुद्ध नेपालले ७ खेलमा हार व्यहोरेको छ भने ५ खेलमा बराबरी खेलेको छ ।
नेपालले पाकिस्तानसँग पहिलो पटक सन् १९८५ मा खेलेको थियो । जुन खेलमा नेपालले पाकिस्तानसँग २-२ गोलको बराबरी खेलेको थियो ।
ढाकामा भएको उक्त खेलमा नेपालका लागि गणेश थापा र मान बहादुर मल्लले एक एक गोल गरेका थिए ।
नेपालले पछिल्लो पटक पाकिस्तानसँग गत वर्षको कात्तिकमा खेलेको थियो ।
फिफा मैत्रीपूर्ण खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीच खेल भएको थियो । जसमा नेपालले अञ्जन बिष्टको गोल मद्दतमा १-० को जित निकालेको थियो ।