काठमाडौं । बंगलादेशले भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आइतबार माल्दिभ्सलाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेशले पहिलो जित निकालेको हो ।
खेलमा सुरुआती अग्रता भने माल्दिभ्सले बनाएको थियो ।
खेलको १७ औं मिनेटमा हाम्जा मोहमदले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ४२ औं मिनेटमा राकिब होसेनले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ६७ औं मिनेटमा तारिक काजीले गोल गर्दा बंगलादेश २-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ९० औं मिनेटमा शेख मोर्सलिनले गोल गर्दै बंगलादेशलाई ३-१ को जित दिलाए ।
जितसँगै समूह 'बी' को तेस्रो स्थानमा रहेको बंगलादेशले २ खेलमा ३ अंक जोडेको छ ।
पहिलो खेलमा बंगलादेशलाई लेबनानले हराएको थियो ।
माल्दिभ्स २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।