काठमाडौं । साविक उपविजेता नेपाल भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा शनिबार साविक विजेता भारतसँग २-० ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्री र महेश सिंह नोरिमले एक एक गोल गरे ।
पहिलो हाफमा भारतविरुद्ध उत्कृष्ट खेलेको नेपालले दोस्रो हाफमा भने दुई गोल खाएको थियो ।
खेलको ६१ औं मिनेटमा सुनिलले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७० औं मिनेटमा महेशले गोल गर्दै भारतलाई २-० को जित दिलाए ।
यस जितसँगै समूह 'ए' बाट भारतले सेमिफाइनलमा स्थान बनाएको छ ।
भारतले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जित निकालेको भारत दोस्रो स्थानमा रहेको छ ।
भारतले पहिलो खेलमा पाकिस्तानलाई ४-० ले हराएको थियो ।
नेपाल भने एक खेल अगाबै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो ।
भारतसँगै कुवेत पनि सेमिफाइनल प्रवेश गरेको छ । कुवेतले शनिबार पाकिस्तानलाई ४-० ले हराएको थियो ।
कुवेत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
अब नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानविरुद्ध खेल्नेछ ।
नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।
पाकिस्तान पनि अंक विहीन रहदै पुछारमा रहेको छ ।
पाकिस्तान पनि समूह चरणबाट बाहिरिएको छ ।