काठमाडौं । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १४ औं संस्करण भोलि बुधबारबाट भारतमा सुरु हुँदैछ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियम मा आयोजना हुने १४ औं साफ च्याम्पियनसिपमा ८ राष्ट्रको सहभागिता रहेको छ।
यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।
फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन् । तर, कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् ।
साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।
भारत साफ च्याम्पियनसिपको इतिहासमा सर्वाधिक सफल टिम हो, उसले आठ पल्ट उपाधि जितेको छ । त्यसपछि माल्दिभ्स आउँछ, उसले दुई पल्ट उपाधि जितेको छ । त्यसपछि बंगलादेश र श्रीलंकाले एक एक पल्ट उपाधि जितेका छन् ।
एक पल्टको च्याम्पियन अफगानिस्तानले साफ च्याम्पियनसिप खेल्दैन् ।
नेपालले अहिले अहिलेसम्म उपाधि जित्न सकेको छैन । नेपालको सर्वाधिक उत्कृष्ट नतिजा फाइनल पुग्नु हो । नेपालले अघिल्लो संस्करणको साफको फाइनल खेलेको थियो ।
साफको इतिहासबारे खेलपाटी डटकमले 'नालीबेली' तयार गरेको छ ।
काठमाडौंमा जन्मेको साफ च्याम्पियनसिप -
दुई संस्करणको सार्क गोल्डकपको आयोजनापछि फेरि एकपल्ट महसुस गरियो, यत्तिको आयोजनाले पुग्दैन् । अझ बढी केही गर्नु पर्छ । अझ भनौं, यसलाई परिस्कृत गर्नु पर्छ ।
यही सोचले तयार भयो, साफ च्याम्पियनसिप । पहिलो संस्करणको साफ च्याम्पियनसिप नेपालमा भएको थियो र हामी भन्न सक्छौं, काठमाडौंमा जन्मेको थियो, साफ च्याम्पियसिप ।
सन् १९९७ मा पहिलो साफ च्याम्पियनसिप भएको थियो । तर अचेल यसका संस्करणबारे गणना गर्दा यसअघिका दुई सार्क गोल्डकप पनि गाभ्ने गरिन्छ ।
त्यो वर्ष काठमाडौंले साफ च्याम्पियनसिपको आयोजना गर्दा पूरा राजधानी फुटबलमय भएको थियो । यसलाई ठूलो प्रतियोगिताको स्वरूप दिन नेपालले कुनै कसर छाडेन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमा गणेश थापा आएको केही वर्ष भइसकेको थियो र उनी केही न केही गरिरहने बानीका थिए ।
दक्षिण एसियाली फुटबल महासंघको पनि अध्यक्ष भएपछि त के चाहियो र ? उनले नेतृत्वमा आएको केही वर्षमै साफ च्याम्पियनसिपको सोच अगाडि सारे, अनि नेपालले नै आयोजना गर्ने निर्णय पनि गरे ।
नेपालले त्यस अगाडि दक्षिण एसियाली खेलकुदको पहिलो संस्करण सन् १९८४ मा आयोजना गरिसकेको थियो ।
तर दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरेको भने यही सन् १९९७ मा मात्र हो ।
जसरी दक्षिण एसियाली खेलकुद आयोजना गर्ने सोच नेपालको थियो, त्यसरी नै साफ च्याम्पियनसिप आयोजना गर्ने सोच पनि नेपालकै हो ।
भारत पहिलो विजेता -
दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष फुटबल त सामेल थियो, तर यो आफैमा फुटबलमै मात्र सीमित प्रतियोगिता थिएन् ।
त्यसैले सन् नब्बेको सुरुआततिर महसुस गरियो, दक्षिण एसियाली देशबीच फुटबल मात्रको छुट्टै प्रतियोगिता आवश्यक छ । यही सोचको जन्म दिएको प्रतियोगिता हो, सार्क गोल्डकप ।
यो साफ च्याम्पियनसिप सुरु हुन अगाडीको प्रतियोगिता हो । अचेल यसको गणना साफ च्याम्पियनसिपकै रूपमा गरिन्छ ।
सार्क गोल्डकपका नाममा दुई संस्करण भए । त्यसमध्ये पहिलो संस्करण सन् १९९३ मा आयोजना गरिएको थियो र आयोजक देश थियो, पाकिस्तान । प्रतियोगिता त सुरु गर्ने भनियो, तर अन्त्यमा सहभागी संख्या चार मात्र रह्यो ।
त्यसैले यो राउन्ड रोबिनको आधारमा खेलाइएको थियो, यसमा फाइनल थिएन् । लिग चरणको अन्त्यमा भारत सर्वाधिक अंकसहित शीर्ष स्थानमा रह्यो र पहिलो विजेता बन्यो ।
भारतले तीन खेलमा दुई जित र एक बराबरी खेलेको थियो, यसरी उसको सात अंक भयो । भारतपछि श्रीलंका र नेपाल रहे । पाकिस्तान अन्तिम स्थानमा आयो ।
खासमा प्रतियोगितामा एक अर्को टिम पनि थियो, पाकिस्तान ‘ह्वाइट’ का रूपमा । सहभागी टिम कम भएपछि पाकिस्तानले आफ्नो दोस्रो टिम पनि उतारेको थियो र यसले पनि सबै प्रतिद्वन्द्वी टिमविरुद्ध खेलेको थियो । तर यो टिमले खेलेको खेल पनि गणना गरिएको थिएन्, यो खालि अनौपचारिक मात्र रहेको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो । लगतै श्रीलंकाविरुद्धको खेल पनि गोलरहित बराबरी रह्यो । नेपाल आफ्नो अन्तिम खेलमा भारतको हातबाट १–० ले पराजित रह्यो ।
नेपालका लागि पाकिस्तानविरुद्ध गोल गर्ने खेलाडी थिए, देवनारायण चौधरी । यसरी साफ च्याम्पियनसिपमा इतिहासमा उनी नेपालका लागि पहिलो गोल गर्ने खेलाडी रहे ।
श्रीलंकाली फुटबलको स्वर्णिम काल -
श्रीलंकाली फुटबल प्राय: त्यहाँको क्रिकेट अगाडि प्राय: ओझेलमा पर्ने गर्छ । क्रिकेटले त्यहाँको फुटबललाई कतिसम्म चुपचाप रहन बाध्य पारेको छ भने कुनै समय त्यस्तो पनि रह्यो, जति बेला श्रीलंकाली फुटबल शून्यकै स्थितिमा पुग्यो । श्रीलंकाली फुटबलभित्रको आन्तरिक विवादले पनि यसलाई अझ दयनीय स्थितिमा पुर्याएको थियो ।
यी सबैका वावजुत पनि श्रीलंकाली फुटबलले एकाध राम्रै सफलता नपाएको पनि होइन् । सन् १९९५ मा श्रीलंकाले दोस्रो संस्करणको सार्क गोल्डकपको आयोजना गरेको थियो र यो त्यही समय हो, जसलाई श्रीलंकाली फुटबलको स्वर्णिम काल थियो भन्ने पनि गरिन्छ । मार्च २५ देखि अप्रिल २ सम्म आयोजित प्रतियोगितामा पाँच टिम सहभागी थिए ।
त्यसलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ए मा थिए, बंगलादेश, नेपाल र माल्दिभ्स । बंगलादेश र नेपालले समूहको शीर्ष दुई स्थानमा रहेर सेमिफाइनल यात्रा तय गरेको थियो । नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित रह्यो । पछि नेपालले पाकिस्तानलाई समान २–० ले हरायो ।
नेपालका लागि त्यस खेलमा हरि खड्का र बालगोपाल महर्जनले गोल गरेका थिए । समूह बी मा रहेको माल्दिभ्सले प्रतियोगिता नखेल्ने भने पछि यसमा खालि दुई टिम मात्र रहे, श्रीलंका र भारत । त्यस खेलको नतिजा बराबरी रह्यो र समूह विजेताका निर्णय टसबाट गरिएको थियो । त्यसमा भाग्यले श्रीलंकाको साथ दियो ।
सेमिफाइनलमा भारतले बंगलादेशलाई हरायो भने श्रीलंकाले नेपाललाई । श्रीलंकाको जित अतिरिक्त समयमा प्राप्त भएको थियो, २–१ को स्कोरमा । नेपालका त्यस खेलमा गोल गर्ने खेलाडी थिए, दीपक अमात्य । फाइनलमा श्रीलंकाले भारतलाई १–० ले हरायो, त्यो पनि अतिरिक्त समयमै प्राप्त जित थियो ।
श्रीलंकाली फुटबलका लागि यो नै अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धी त हो नै, उसले जितेको एक मात्र उपाधि पनि यही हो । श्रीलंकाले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा कहिले पनि स्वर्ण जितेको छैन् । तर सन् १९९५ मा उसलाई सार्क गोल्डकप जित्नबाट कसैले रोक्न सकेन् । सन् २००६ को एक वर्ष छाडेर श्रीलंकाली फुटबल अधिकांस समय कमजोर नै सावित भयो ।
भारतलाई उपाधि, नेपाल सबैभन्दा पछाडि -
प्रतियोगिता आयोजना गर्दैमा घरेलु टिमले राम्रो गर्छ भन्ने केही छैन् ।
सन् १९९७ को साफ च्याम्पियनसिप नेपालले अहिलेसम्म खेलेका फुटबलका प्रतियोगितामध्ये सबैभन्दा खराब मान्न मिल्नेमा पर्छ ।
प्रतियोगिता सुरु हुन अगाडि नेपाल उपाधिको सबैभन्दा बलियो दावेदार थियो, त्यहीं प्रतियोगिताको अन्त्यसम्ममा नेपाल सबैभन्दा खराब टिम सावित भयो ।
त्यही बेलादेखि त हो, भन्न थालेको, नेपालका लागि साफ च्याम्पियनसिप फाप्दैन् । सेप्टेम्बर ४ देखि १३ सम्म आयोजित प्रतियोगितामा ६ टिम सहभागी थिए र तिनलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो ।
'ए' समूहमा नेपालसँग श्रीलंका र पाकिस्तान थिए । नेपालले आफ्नो पहिलो खेलमै पाकिस्तानसँग २–० ले पराजित भयो र दबाबमा आइहाल्यो ।
आफ्नो दोस्रो खेलमा पनि नेपाल श्रीलंकासँग ३–१ ले पराजित भयो । नतिजा नेपाल लिग चरणबाटै बाहिरियो । श्रीलंकाविरुद्ध एक सान्त्वना गोल दीपक अमात्यले गरेका थिए ।
श्रीलंका र पाकिस्तान सेमिफाइनल पुगे । अर्को समूह 'बी' मा भारत, माल्दिभ्स र बंगलादेश थिए । भारत र माल्दिभ्सले सेमिफाइनल यात्रा तय गरे।
सेमिफाइनलमा माल्दिभ्सले श्रीलंकालाई हरायो भने भारतले पाकिस्तानलाई । दक्षिण एसियाली फुटबलमा माल्दिभ्स शक्ति हुँदैछ भन्ने पहिलो संकेत यही प्रतियोगिताबाट प्राप्त भएको थियो।
माल्दिभ्स कुनै पनि फुटबल प्रतियोगिताको फाइनल पुगेको यो नै पहिलो अवसर थियो । उपाधिको भिडन्तमा भने भारत नै बलियो सावित भयो र बन्यो, साफ च्याम्पियन ।
नरेशको ह्याट्रिक, भारत फेरि च्याम्पियन -
सन् १९९९ को साफ च्याम्पियनसिप आयोजना भएको थियो, भारतमा । पश्चिम बंगालपछि भारतमा कुनै राज्यमा फुटबल लोकप्रिय छ भने त्यो गोवामै हो ।
गोवाको मार्गोमा त्यो वर्षको साफ च्याम्पिनयसिप भएको थियो । जवाहरलाल नेहरु स्टेडियममा भएको प्रतियोगिता फेरि एकपल्ट भारतले नै जित्यो, विना कुनै रोकतोक ।
फाइनलमा भारतले बंगलादेशलाई हराएको थियो । यो त्यो समय थियो, जति बेला भारतीय फुटबलमा वाइचुङ भुटियाको जगजगी चलिरहेको थियो । उनले चार खेलमा तीन गोल गरे ।
बंगलादेशमाथि फाइनलमा प्राप्त २–० जितमा पनि उनले एक गोल गरे । भारतले उपाधि जित्ने क्रममा खासै चुनौती सामना गर्नु परेन् ।
खालि लिग चरणमा मात्र भारतले बंगलादेशसँग लिग चरणमा गोलरहित बराबरी खेलेको थियो । भारत रहेको त्यस समूह ए बाट पाकिस्तान अगाडि बढन् सकेन् ।
नेपालका लागि यो साफ च्याम्पियनसिप खासै उपलब्धीमुलक रहेन् । नेपालको समूहमा माल्दिभ्स र श्रीलंका थिए । श्रीलंका लिग चरणमै रोकियो ।
नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो र यो खेललाई सम्झने भनेको नरेश जोशीको उपलब्धीलाई लिएर मात्र हो । नरेशले त्यस खेलमा ४, ४१ र ८१ औं मिनेटमा गोल गरे र ह्याट्रिक पूरा गरे ।
यस क्रममा उनी नेपालका लागि ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । यसअघि गणेश थापाले ह्याट्रिक गरेका थिए ।
त्यस खेल लगतै नेपाल माल्दिभ्ससँग ३–२ ले पराजित रह्यो । त्यसमा हरि खड्काले दुई गोल गरे । एक खेल जितेर नेपाल सेमिफाइनल त पुग्यो, तर त्यसमा बंगलादेशसँग २–१ ले पराजित रह्यो । त्यसमा बालगोपाल महर्जनले ७४ औं मिनेटमा गोल गरे ।
त्यस हारपछि नेपालले तेस्रो स्थानका लागि माल्दिभ्ससँग खेलेको थियो र त्यसमा पनि नेपाल २–० ले पराजित रह्यो ।
बंगलादेशलाई घरमा उपाधि -
भारतको गोवामा भएको साफ च्याम्पियनसिपपछि यसको नयाँ संस्करण बंगलादेशको ढाकामा हुन चार वर्ष लाग्यो ।
सन् २००३ को संस्करण धेरै अर्थमा पूर्ण प्रतियोगिता रह्यो, किनभने यसमा पहिलो पल्ट दक्षिण एसियाका सबै आठ टिमको सहभागिता रह्यो ।
अफगानिस्तान नवप्रवेशी रह्यो र सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो ।
समूह ए बाट पाकिस्तान र भारतले सेमिफाइनल यात्रा गरे । श्रीलंका र अफगानिस्तान समूह चरणबाट बाहिरिए । पाकिस्तान प्रतियोगिताको सरप्राइज टिम रह्यो र उसले लिग चरणका सबै खेल जितेको थियो । त्यसको अर्थ उसले भारतलाई पनि हराएको थियो ।
समूह बी मा नेपालसँगै आयोजक बंगलादेश, माल्दिभ्स र भुटान थिए ।
नेपालले भुटानलाई मात्र हराउन सक्यो, अन्य दुई खेलमा भने पराजित रह्यो । नेपाल बंगलादेशविरुद्धको पहिलो खेलमा १–० ले पराजित रह्यो । लगतै दोस्रो खेलमा नेपालले भुटानलाई २–० ले हरायो र यसमा गोल गर्ने खेलाडी थिए, निराजन रायमाझी र कुमार थापा । यो जितपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायम रह्यो ।
तर, अन्तिम खेलमा नेपाल माल्दिभ्सको हातबाट ३–२ ले पराजित रह्यो । नेपालका लागि निराजन र देवनारायण चौधरीले गोल गरेका थिए ।
नेपालले प्रतियोगिताका लागि भनेर दक्षिण कोरियाली प्रशिक्षक यु कि ह्योङको नेतृत्वमा तयारी गरेको थियो, तर यसको नतिजा फेरि एकपल्ट दु:खद रह्यो र टिम समूह चरणमै रोकियो । बंगलादेशका लागि यो अवसर खुसीको रह्यो ।
उसले सेमिफाइनलमा भारतलाई अतिरिक्त समयमा २–१ ले हरायो भने फाइनलमा माल्दिभ्सलाई टाइब्रेकरमा ५–३ ले हरायो । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेको थियो ।
यसअघि माल्दिभ्सले सेमिफाइनलमा पाकिस्तानलाई पन्छाएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा भारतले पाकिस्तानलाई हराएर समूह चरणमा बेहोरेको हारका बदला लिन भने सफल रह्यो ।
पाकिस्तानी भूमिमा भारतलाई उपाधि -
सन् २००५ को साफ च्याम्पियनसिप पाकिस्तानको कराँची सहरले आयोजना गरेको थियो र त्यसक्रममा निकै कडा सुरक्षा व्यवस्था अपनाइएको थियो ।
भएको के थियो भन्दा त्यसको केही समय अगाडि मात्र कराँचीमा शृंखलाबद्ध बम विष्फोटन भएका थिए । त्यसैले सहभागी बसेको होटल र आयोजना स्थल रंगशालामा खुबै कडा सुरक्षा व्यवस्था थियो।
फेरि एकपल्ट प्रतियोगितामा आठै टिम सहभागी रहे । पहिलो समूह ए बाट माल्दिभ्स र पाकिस्तानले सेमिफाइनल यात्रा गरे । अफगानिस्तान र श्रीलंकाको यात्रा समूह चरणमै टुंगियो ।
अर्को समूहबाट बंगलादेश र भारत अन्तिम चारमा पुगे । यस समूहबाट बाहिरिने टिम थिए, नेपाल र भुटान । नेपालका लागि प्रतियोगिता फेरि एकपल्ट निराशाजनक रह्यो ।
जापानी प्रशिक्षक तोसिहिरो सिवाजावाको नेतृत्वमा नेपालले एकै जित मात्र निकाल्न सक्यो र यो अपेक्षित रूपमा भुटानविरुद्ध नै थियो । यो नेपालको लिग चरणको अन्तिम खेल थियो र त्यस अगाडि नै नेपालको सेमिफाइनल पुग्ने समीकरण टुंगिसकेको थियो । नेपाल भारतसँग २–१ र बंगलादेशसँग २–० ले पराजित रह्यो ।
भारतविरुद्ध एक मात्र गोल वसन्त थापाले गरे । माल्दिभ्सविरुद्ध प्राप्त ३–१ जितमा क्रमश: सुरेन्द्र तामाङ, वसन्त थापा र विजय गुरुङले गोल गरे।
सेमिफाइनलमा भने भारतले माल्दिभ्स र बंगलादेशलले पाकिस्तानलाई हरायो । फाइनलमा भारतले बंगलादेशलाई हराएर पाकिस्तानी भूमिमा उपाधि जित्न सफल रह्यो ।
नेपालका लागि यो प्रतियोगिता एक अर्थमा विशेष छ र यो हो, नेपाली राष्ट्रिय टिममा एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडीको प्रवेश ।
त्यो भनेको नेपाली फुटबलमा नयाँ पुस्ताको प्रवेश पनि । यस प्रतियोगितासँगै उपेन्द्रमान सिंह र बालगोपाल महर्जन पुस्ताका खेलाडीको राष्ट्रिय टिममा पूर्ण विराम लाग्यो ।
माल्दिभ्स पहिलो पल्ट च्याम्पियन -
सन् २००८ को साफ च्याम्पियनसिप धेरै अर्थमा फरक रह्यो, यसअघिका संस्करणको तुलनामा।
पहिलो पल्ट प्रतियोगिता दुई देशले आयोजना गरे, प्रतियोगिताले नयाँ च्याम्पिययन पायो, अनि भुटानको सेमिफाइनल यात्रा सम्भव भयो ।
यसमध्ये पनि सबैभन्दा ठूलो विशेषता त माल्दिभ्स पहिलो पल्ट साफ च्याम्पियन हुनु नै रह्यो ।
प्रतियोगितामा फेरि एकपल्ट आठ टिमले सहभागिता जनाएका थिए । त्यसमध्ये समूह ए का खेल मालेमा भएका थिए । यो समूहबाट भारत र माल्दिभ्सले सेमिफाइनल यात्रा तय गरेको थियो ।
नेपाल यसै समूहमा थियो । फेरि एकपल्ट नेपालले पनि सुरुआती दुई खेल गुमायो, अनि सेमिफाइनल जाने सम्भावना समाप्त भयो ।
त्यसमा भारतविरुद्ध ४–० र माल्दिभ्सविरुद्ध ४–१ हार रह्यो । माल्दिभ्सविरुद्ध विसन गौचनले एक सान्त्वना गोल गरे ।
नेपालले पाकिस्तानको सामना गर्दा त्यसको महत्त्व औपचारिक मात्र थियो । यसमा भने नेपालले ४–१ को प्रभावशाली जित निकाल्न सक्यो ।
आफ्नो खेल जीवनकै सबैभन्दा उत्कृष्ट लयमा रहेका जुमनु राई दुई गोल गरे । अर्को दुई गोल राजु तामाङ र निराजन रायमाझीले गरेका थिए ।
निराजनले यही खेलबाट नेपालका लागि सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरे । यससँगै उनले हरि खड्काको बराबरी गरेका थिए ।
निराजनले नेपालका लागि खेलेको यो २१ औं खेल मात्र थियो र यसले पनि प्रस्ट पार्छ, उनको नेपालका लागि गोल गर्ने उच्च दर । समूह बी का खेल कोलम्बोमा भएका थिए ।
त्यसबाट श्रीलंका र भुटानले सेमिफाइनल यात्रा तय गरे । भुटानका लागि यो अद्धितीय उपलब्धी थियो । यो समूहमा बंगलादेशको प्रदर्शन खराब रह्यो र तेस्रो स्थानमा मात्र रह्यो ।
अफगानिस्तान भने चौथो स्थानमा । अन्तिम चारमा भारतले भुटानलाई अतिरिक्त समयमा २–१ ले हरायो । माल्दिभ्स भने श्रीलंकामाथि १–० ले विजयी रह्यो ।
उपाधिको भिडन्त कोलम्बोमा भएको थियो । फाइनलमा माल्दिभ्सले भारतलाई १–० ले हरायो र ऐतिहासिक रूपमा साफ च्याम्पियन भयो । खेलको ८७ औ मिनेटमा मुख्तर नासिरले निर्णायक गोल गरेका थिए ।
यो खेलको साक्षी बन्न २० हजार दर्शक सुगतदासा रंगशालामा उपस्थिति थिए । उपाधि जितेपछि माल्दिभ्सले मनाएको खुसीयाली हेरिनसक्नु थियो ।
अफगानिस्तान च्याम्पियन-
साफ च्याम्पियनसिपको इतिहासमा नेपालसामु उपाधि जित्ने अवसर यति राम्रो कहिले पनि प्राप्त भएको थिएन् ।
कुरा, सन् २०१३ को साफ च्याम्पियनसिपको हो । तर, फेरि एकपल्ट नेपाल सेमिफाइनलमै रोकियो र यो रह्यो, अर्को असफलताको कथा ।
मैदानमा नेपालको प्रदर्शन धेरै अर्थमा राम्रो रह्यो र सेमिफाइनलमा अफगानिस्तानविरुद्ध खाएको एक गोलले सबै सपना चकनापुर पारेको थियो।
दशरथ रंगशालामा भएको प्रतियोगिता अगस्ट ३१ देखि सेप्टेम्बर ११ सम्म चलेको थियो र सहभागी संख्या फेरि एकपल्ट आठ टिम नै रह्यो ।
नेपाल समूह ए मा थियो र यो प्रतियोगिता इतिहासमै सबैभन्दा कठिन समूह थियो । यसलाई ग्रुप अफ डेथ भन्दा केही फरक पर्दैनन् थियो । तर नेपाल यही समूहको विजेता रह्यो ।
नेपालले सुरुमै बंगलादेशलाई २–० ले हरायो र यसमा अनिल गुरुङ तथा भरत खवासले गोल गरे । लगतै नेपालले पाकिस्तानसँग १–१ को बराबरी खेल्यो । त्यसमा खेलको अन्त्यतिर विमल घर्तिमगरले बराबरी गोल गरे । लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतमाथि ऐतिहासिक २–१ जित निकाल्यो ।
गोल गर्ने खेलाडी थिए, अनिल र जुमनु राई । नेपाल समूह विजेता बन्यो भने भारत उप विजेता । भारत र पाकिस्तानको समान चार अंक भएको थियो, तर हेड टु हेडको आधारमा भारत सेमिफाइनल पुग्न सफल रह्यो । अर्को समूहबाट माल्दिभ्स र अफगानिस्तान सेमिफाइनल पुगे । श्रीलंका र भुटान लिग चरणमै रोकिए ।
भरिभराउ दशरथ रंगशालामा भएको सेमिफाइनलमा नेपाल अफगानिस्तानको हातबाट १–० ले पराजित भयो । यो दुर्भाग्यपूर्ण हार थियो, किनभने यो हुलमुलमा फ्यास्स भएको गोल मात्र थियो । गोलरक्षक थिए, किरण लिम्बू ।
उनका लागि यो आफ्नो खेल जीवनकै सबैभन्दा तीतो गोल रहेको छ र उनी त्यसबाट ठ्याक्कै के भएको थियो, अहिलेसम्म पनि भन्न सक्दैनन् ।
अर्को सेमिफाइनलमा भारतले माल्दिभ्सलाई हरायो । फाइनलमा अफगानिस्तानले भारतमाथि स्तब्धपूर्ण २–० को जित निकाल्यो ।
नेपालको हारले स्तब्ध दर्शक त्यस फाइनल हेर्न रंगशाला पनि पुगेनन् र लगभग खालि खालि दर्शकदीर्घा अगाडि फाइनल भएको थियो । अनि अफगानिस्तान पहिलो पल्ट साफ च्याम्पियन बन्न सफल रह्यो ।
नेपालको अहिलेसम्मकै खराब प्रदर्शन-
सन् २०१५ को साफ च्याम्पियनसिप भारतले फेरि एकपल्ट आयोजना गरेको थियो र फेरि एकपल्ट उपाधि जित्न पनि सफल रह्यो ।
केरलाको त्रिवेन्द्रममा भएको त्यस साफ च्याम्पियनसिपको मूल कथा हो, भारत कीर्तिमान सातौं पल्ट विजेता रह्यो ।
नेपालका लागि दृष्टिकोणमा भन्दा अहिलेसम्मकै सबैभन्दा खराब प्रदर्शन रह्यो, यस प्रतियोगितामा ।
नेपाल समूह ए मा परेको थियो र यसमा खालि तीनै टिम मात्र थिए । अन्य दुई टिम थिए, भारत र श्रीलंका । पाकिस्तानले भाग नै लिएन् ।
नेपाल आफ्नो पहिलो खेलमै श्रीलंकाविरुद्ध १–० ले पराजित भयो । बराबरीतर्फ अग्रसर खेलको ९५ औं मिनेटमा मोहम्मद रिफनासले श्रीलंकाका लागि गोल गरे । लगतै भारतले श्रीलंकालाई २–० हरायो ।
यस्तोमा नेपालले आफ्नो अन्तिम खेलमा भारतमाथि निश्चित जित निकाल्न आवश्यक थियो, सेमिफाइनल पुग्नका लागि ।
विमल घर्तिमगरले खेलको तेस्रो मिनेटमै नेपालका लागि गोल गरेपछि सम्भावना बनेको पनि थियो, तर खेल सकिंदा नेपाल ४–१ ले पराजित रह्यो ।
यसरी सन् १९९७ यता पहिलो पल्ट नेपाल समूह चरणका सबै खेलमा पराजित भयो ।
समूह बी बाट अफगानिस्तान र माल्दिभ्स अन्तिम चारमा पुगे, बंगलादेश र भुटानको अनुपस्थितिमा । सेमिफाइनलमा भारतले माल्दिभ्स तथा अफगानिस्तानले श्रीलंकालाई हरायो ।
फाइनलमा भारत अफगानिस्तानमाथि २–१ को जित निकाल्न सफल रह्यो र यो अतिरिक्त समयमा प्राप्त जित थियो ।
भारतले प्रशिक्षक स्टेफन कन्स्टाइटिनको नेतृत्वमा खेलेको थियो । उनी नेपालका पूर्व प्रशिक्षक समेत हुन् । उनले नेपाल दुवै खेलमा पराजित रहे पनि टिमको प्रदर्शन राम्रो रहेको बताए ।
यो सान्त्वना प्रशंसा जस्तै थियो । यस प्रतियोगितामा नेपालका प्रशिक्षक प्याट्रिक ओसेम्स थिए र उनले नयाँ तथा युवा खेलाडी सम्मिलित टिम बनाएका थिए, त्यसैले पनि टिम अनुभवहीन रह्यो ।
सागरका लागि सम्झिने साफ-
नेपाली फुटबलले पाएका सबैभन्दा उत्कृष्ट खेलाडीमध्ये एक हुन्, सागर थापा । उनले निकै लामो समय नेपाली रक्षापंक्ति सम्हाले । अनि कप्तानी पनि ।
अहिले भने उनी नेपाली फुटबलको परिदृष्यमा छैनन् र सबैलाई थाहा छ, उनीमाथि खेल मिलामतोको आरोपमा आजीवन प्रतिबन्ध लागेको छ । तर उनी सम्झिरहनु पर्ने खेलाडी भने हुन् ।
सन् २०११ को साफ च्याम्पियनसिप धेरैले उनकै एक गोलका लागि सम्झिने गर्छन् । र, सबैलाई के पनि थाहा छ भने नेपालका तर्फबाट सम्भव गोल मध्ये यो सर्वाधिक उत्कृष्टमा पर्छ ।
यो संस्करणको साफ च्याम्पियनसिप भारतको नयाँ दिल्लीमा भएको थियो र घरेलु टिम नै च्याम्पियन बन्यो । छैटौं पल्ट च्याम्पियन हुने क्रममा भारतले फाइनलमा अफगानिस्तानलाई सजिलै ४–० ले हरायो ।
पूरा प्रतियोगितामा सुनिल क्षेत्री छाए । उनले सात गोल गरे र प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए । सेमिफाइनलमा भारतले माल्दिभ्सलाई हराएको थियो । अफगानिस्तानले अर्को सेमिफाइनलमा नेपाललाई अतिरिक्त समयको खेलपछि १–० ले हरायो ।
नेपालका लागि प्रतियोगिताको अन्तिम चारमा पुग्नु आफैमा उपलब्धी थियो, तर फाइनल यात्रा भने सम्भव भएन् ।
अफगानिस्तानविरुद्धको हार निकै पीडायदायी रह्यो । सेमिफाइनल खेल अगाडि अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरिसकेको थियो, नेपाल साफ च्याम्पियनसिप जित्छ भने प्रत्येक खेलाडीलाई अपार्टमेन्ट उपहार दिइनेछ ।
कुल आठ टिम सम्मिलित प्रतियोगिता डिसेम्बरको २ बाट ११ सम्म चलेको थियो । समूह ए बाट अफगानिस्तान र भारत सेमिफाइलन पुगे ।
श्रीलंका र भुटान लिग चरणमै रोकिए । समूह बी बाट भने माल्दिभ्स र नेपाल अन्तिम चारमा पुगेको थिए । समूहमा पाकिस्तान र बंगलादेश अन्तिम दुई स्थानमा रहे । नेपालले सुरुमा माल्दिभ्सविरुद्ध १–१ को बराबरी खेलेको थियो ।
यसमा सन्दीप राईले नेपालका लागि गोल गरेका थिए । संयोगले उनी पनि खेल मिलामतोको आरोपमा आजीवन प्रतिबन्ध बेहोरिरहेका छन् ।
दोस्रो खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो । यसैमा सागरले प्रसिद्ध निर्णायक गोल गरेको, मैदानको बीच भागबाट प्रहार गरेको फ्रि किकको मदतले ।
नेपालले अन्तिम खेलमा पाकिस्तानविरुद्ध १–१ को बराबरी खेल्यो र लिग चरणमा अपराजित रह्यो । त्यसमा भने भरत खवासले गोल गरेका थिए ।
कराँची साफमा नयाँ पुस्ताको उदय-
सन् २००५ को कराँची साफ च्याम्पियनसिपको चर्चा गर्दा त्यसको नेपाली फुटबलमा खास अर्थ छ । किन भने यस प्रतियोगितासँगै नेपाली फुटबलमा नयाँ अध्याय सुरु हुन्छ ।
र, त्यो अध्याय नेपाली राष्ट्रिय टिममा एन्फा एकेडेमीका खेलाडीको बाहुल्यता । यो क्रम अहिलेसम्म पनि चलिरहेको नै छ ।
त्यस साफमा नेपालले आफ्नो पहिलो खेल भारतविरुद्ध खेलेको थियो, जसमा नेपाल २–१ ले पराजित रह्यो । भारतविरुद्ध एक मात्र गोल वसन्त थापाले गरे । त्यसमा एकैपल्ट सात खेलाडीले डेब्यु गरेका थिए ।
ती थिए, विकास मल्ल, जनक सिंह, विसन गौचन, तासी छिरिङ, प्रदीप महर्जन, विजय गुरुङ र लोकबन्धु गुरुङ ।
लगतै बंगलादेशविरुद्धको खेलमा अञ्जन केसी, राजु तामाङ र प्रलय राजभण्डारीले पहिलो पल्ट खेल्ने अवसर पाए ।
प्रतियोगिता डिसेम्बरमा भएको थियो । त्यस अगाडि नेपालको अन्तिम खेल एसिया कप छनोट दोस्रो लेगमा दक्षिण कोरियाविरुद्ध थियो । त्यो भनेको सन् २००३ को अक्टोबर ।
नेपाली राष्ट्रिय टिमले त्यसबीच दुई वर्ष भन्दा बढी खेल्दै खेलेन् र यसमा विश्वकप छनोट पनि पर्छ । एसिया कप छनोटमा खराब प्रदर्शनपछि यो स्थिति तयार भएको थियो ।
दक्षिण कोरियाविरुद्ध खेलेको त्यस खेलका ६ खेलाडीले नेपालका लागि अन्तिम खेले खेलेको संयोग पनि तयार भयो।
ती खेलाडी थिए, उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, मधु कार्की, नरोत्तम गौत्तम, सुनिल तुलाधर र कुमार थापा । कराँचीमा टिमकै सदस्यका रूपमा गोलरक्षक सिंह पनि पुगेका थिए, तर उनले खेल्न पाएनन्।
नेपाल विजेता रहेको छैन ?
नेपालले भलै साफ च्याम्पियनसिपमा अहिलेसम्म च्याम्पियन हुने अवसर पाएको छैन्, दक्षिण एसियाली खेलकुद (साग) मा भने नेपालको प्रदर्शन गर्विलो छ ।
साफ च्याम्पियनसिपमा नेपालको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन भनेको एक पटक फाइनल पुग्नु हो ।
माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।
नेपाल उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित भएको थियो । भारत आठौं पटक च्याम्पियन बनेको थियो।