अफगानिस्तान खेल्न नमानेपछि नेपालसँग खेल्दै बंगलादेश

काठमाडौं। अफगानिस्तानले खेल्न नमानेपछि बंगलादेशले नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
बंगलादेश फुटबल फेडरेसन (बीएफए)ले एएफसी एसियन कप छनोटअघि नोभेम्बर १३ मा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको थियो। तर, सबै तयारी पूरा भएपछि अफगानिस्तानले खेल रद्द गरेसँगै बंगलादेशले नेपालसँग खेल्ने पक्का गरेको हो।
आगामी नोभेम्बर १८ मा ढाकास्थित किङ्स एरिनामा एएफसी एसियन कप छनोटअन्तर्गत अफगानिस्तान र म्यानमारबीचको खेल हुने तय गरिएको थियो।
त्यसअघि नोभेम्बर १३ मा अफगानिस्तानले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको थियो। तर, सबै तयारी पूरा भएपछि पनि दुवै खेल अन्ततः रद्द भएको हो।
मुख्य समस्या भने म्यानमारले सुरु गरेको हो। अफगानिस्तानले आफ्नो ‘होम म्याच’ बंगलादेशमा राखेको थियो। तर, अफगानिस्तानविरुद्ध बंगलादेशमा खेल्न म्यानमारले अस्वीकार गरेको हो। त्यसपछि अफगानिस्तान र एसियन फुटबल कन्फेडरेसन (एएफसी) नयाँ भेन्यु खोज्न थालेका छन्। म्यानमारले केही कारण देखाउँदै ढाकामा खेल्न अस्वीकार गरेको जनाइएको छ।
एएफसीको वेबसाइटमा पनि नोभेम्बर १८ मा किङ्स एरिनामा अफगानिस्तान–म्यानमार खेल हुनेछ भन्ने विवरण उल्लेख थियो। त्यसपछि एएफसीले फेरि भेन्यु परिवर्तनको तयारी गरेको हो।
म्यानमारले अस्वीकार गरेपछि अफगानिस्तान पनि बंगलादेश नआउने पक्का भएको थियो। त्यसैले १३ नोभेम्बरको बंगलादेश–अफगानिस्तान मैत्रीपूर्ण खेल रद्द भएको हो।
उक्त खेल रद्द भएसँगै बीएफएले आगामी १८ नोभेम्बरमा हुने बंगलादेश–भारत एसियन कप छनोट खेलअघि तयारी खेलका लागि नयाँ प्रतिद्वन्द्वी खोज्न थालेको थियो। सोही क्रममा नेपालसँग खेल्ने पक्का भएको हो।
नेपालले १८ नोभेम्बरमा आफ्नै ‘होम’ खेल खेल्नुपर्ने भए पनि भेन्यु नपाउँदा मलेसियाको क्वालालम्पुरमा आफ्नो खेल खेल्नेछन्। त्यसअघि ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ। नेपालले गत सेप्टेम्बरमा घरेलु मैदानमा बंगलादेशसँग २ मैत्रीपूर्ण खेल राखेको थियो।
सेप्टेम्बर ६ मा भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो। सेप्टेम्बर ८ मा तय भएको अर्को खेल भने जेनजी आन्दोलनका कारण एक दिन अगाडि नै रद्द भएको थियो।












