बाँके । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले आठौं राष्ट्रिय खेलकुद समयमै हुने धेरै आधारहरु तयार भइसकेको बताएका छन् । ओलम्पिक डेका अवसरमा शुक्रवार आयोजित ‘प्रदेश खेलकुदको सम्भावना र हाम्रो दायित्व’ बिषयक अन्तरक्रियामा बोल्दै उनले प्रतियोगिताको आयोजना गर्न आधारहरु खडा भएको दाबी गर्दै आयोजनामा शंका उपशंका नगर्न आग्रह गरे ।
‘हामी आठौंको महाअभियानमा जुटेका छौं ।’ उनले भने, ‘अब सम्पुणै जिल्लावासीले यसलाई प्रतिष्ठाको बिषय बनाएर अघि बढे अहिलेसम्मकै उत्कृष्ट राष्ट्रिय खेलकुदका रुपमा सम्पन्न गर्नेछौं ।’
आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुर्वाधार निर्माणमा ढिलाई भईरहेको भन्दै राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीले असन्तुष्टि जनाउदै आएको थियो ।
अध्यक्ष ओलीले यसै महिनाभित्र खेलकुद पत्रकारिता तालिम पनि सञ्चालन गर्ने समेत बताएका छन् । उनले आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा भब्यताका साथ सफल हुने बताउदै त्यसमा सम्पुर्णको साथ सहयोगको अपेक्षा गरे ।