काठमाडौं । नेपाल र भारत अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
३ राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोविन लिगमा नेपाल उपविजेता र भारत विजेता बन्दै फाइनलमा पुगेका हुन् । नेपालले एक÷एक जित र हारको सामना गर्दै ३ अंक जोड्यो । दुवै खेलमा जित निकालेको भारतले ६ अंक बटुल्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा शुक्रबार भारतले नेपाललाई ५१–२६ ले पराजित ग¥यो । भारतका अमित नगर उत्कृष्ट रेडर तथा विनित शर्मा उत्कृष्ट केचर चुनिए ।
नेपाल र भारत भिड्नु अगावै दुवै टिम फाइनलमा पुगिसकेका थिए । त्यस खेल अगाडि नै दुवैले बंगलादेशलाई हराइसकेकाले दुवैको स्थान फाइनलमा सुरक्षित भइसकेको थियो ।
शुक्रबारै भएको पहिलो खेलमा भारतले बंगलादेशलाई १७–९ ले हराएको थियो । त्यस्तै प्रतियोगिताको पहिलो दिन बिहीबार नेपालले बंगलादेशमाथि ३७–३५ को जित दर्ता गरेको थियो ।
अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।