काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमको ‘क्लोज क्याम्प’ भोलीबाट सुरु हुने भएको छ । साफ च्याम्पियनसिपको तयारी जुटेको नेपालले गत बुधबारबाट नियमित प्रशिक्षण सुरु गरेको थियो ।
प्रतियोगिता आउन झण्डै तीन महिना अगाडीनै नेपालले खेलाडीलाई ‘क्लोज क्याम्प’मा राखेर तयारी गर्न लागेको हो । अखिल नेपाल फुटबल संघ एन्फाले प्रारम्भिक रुपमा ३४ खेलाडीलाई ‘क्लोज क्याम्प’मा राख्ने भएको छ ।
राष्ट्रिय टिमका २० जना, अन्डर १९ टिमका ९ जना र बाँकी ५ जना पुर्व राष्ट्रिय खेलाडीलाई ‘क्लोज क्याम्प’मा समावेश गरिदैछ । यसअघि टिम बाहिर रहेका कुस्मा खत्री, अनु लामा, कृण्ण खत्री, सर्मिला थापा, सुनिता चौधरी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, इन्दिरा राईलाई ‘क्लोज क्याम्प’मा समावेश गरिनेछ ।
चौथो संस्करणको महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुदैछ । घरेलु भूमिमा हुन लागेको प्रतियोगिता जित्ने नेपालले लक्ष्य लिएको छ । त्यसकै तयारी स्वरुप एन्फाले खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारी अघि बढाएको महिला टिमका मुख्य प्रशिक्षक हरी खड्काले खेलपाटीलाई बताए ।
‘घरेलु भुमीमा भएको प्रतियोगिता जित्ने लक्ष्य सहित ‘क्लोज क्याम्प’ सुरु गर्न लागेका छौ । प्रतियोगिता जित्ने लक्ष्य सहितको योजना मैल एन्फामा बुझाईसकेको छु । त्यही अनुसार तयारी अघि बढ्छ ।’ प्रशिक्षक खड्काले भने ।
प्रतियोगिताका सबै खेल विराटनगरको सहिद रंगशालामा हुनेछ । महिला टिमले करिब एक महिना विराटनगरको सोही रंगशालामा अभ्यास गर्नेछ । तालिका अनुसार नेपाल समूह 'ए' मा परेको छ ।
नेपालले समुह चरणको पहिलो खेलमा भुटानसंग खेल्नेछ । दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दा अन्तिम खेलमा बंगलादेशसंग खेल्नेछ ।