काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको नेपाल सिरिजमा घरेलु टोलीले आज शुक्रबार स्कटल्याण्डसँग खेल्दैछ ।
३ खेल अगावै विश्वकप लिग टूको बिजेता बनेको स्कटल्याण्डविरुद्ध नेपालको खेल हुदैछ । टियु मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा रहेका छन् ।
स्कटल्याण्डसँग पहिलो पटक घरेलु भूमिमा खेल्दै गरेको नेपाल जित निकाल्न चाहन्छ ।
नेपाल र स्कटल्याण्ड नयाँ प्रतिद्वन्दी भने होईनन् । नेपाल र स्कटल्याण्ड एकदिवसीय अन्तराष्ट्रियमा चार पटक खेलेका छन् । १ खेलमा नेपाल र ३ खेलमा स्कटल्याण्ड विजयी भएको छ ।
एकदिवसीय अन्तराष्ट्रियमा नेपाल र स्कटल्याण्डको पहिलो भेट १३ जुलाई २०२२ मा भएको थियो । विश्वकप लिग टू अन्तर्गतको खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।
टस जितेर नेपालले पहिले फिल्डिङ राजे पछि पहिले ब्याटिङ गरेको घरेलु टोलीलाई नेपालले ४२.५ ओभरमा १ सय ४४ रनमा अलआउट गरेको थियो । खेलमा नेपालका तर्फबाट सोमपाल कामी र आदिल आलमले समान ३/३ तथा तत्कालिन कप्तान सन्दीप लामिछानेले २ विकेट लिएका थिए ।
१ सय ४४ रनको लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । नेपालका लागि ओपनर आसिफ शेखले ७१ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । हालका कप्तान रोहित कुमार पौडेलले ३४ तथा कुशल भुर्तेलले २७ रन बनाएका थिए ।
स्कटल्याण्ड भएको सो सिरिजमा पुनः नेपाल र स्कटल्याण्डको भेट भएको थियो । ४ दिन पछि भएको खेलमा नेपाल ८ विकेटले पराजित भयो । टस हारेर नेपालले पहिले ब्याटिङ गरेकोमा ३५.५ ओभरमा १ सय २८ रन बनाएको थियो ।
नेपालका लागि आसिफ शेखले ४० तथा तत्कालिन कप्तान सन्दीप लामिछानेले २२ रन बनाएका थिए । १ सय २८ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । बलिङ तर्फ नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान १/१ विकेट लिएका थिए ।
नेपाल र स्कटल्याण्डको तेस्रो भेट ४ डिसेम्बर २०२२ नामिबिया भ्रमणका क्रममा भएको थियो । ४ डिसेम्बर २०२२ मा भएको सो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।
उक्त खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गरेको थियो । सधै कमजोर ब्याटिङको प्रदर्शन गरेको नेपालले ४० ओभर १ बलमा अलआउट हुदै १ सय ३७ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले २९ तथा ज्ञानेन्द्र मल्लले २५ रन बनाएका थिए ।
१ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले ३२ ओभर १ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि बलिङ तर्फ सागर ढकाल,ललित नारायण राजवंशी र गुलसन झाले समान २/२ विकेट लिएका थिए ।
नेपाल र स्कटल्याण्डको चौथो भेट ८ डिसेम्बर २०२२ मा नामिबिया भ्रमणका क्रममा भएको थियो । सो खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो ।टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३५.३ ओभरमा अलआउट हुदै १ सय १९ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४७ तथा सोमपाल कामीले १६ रन बनाएका थिए । सोमपाल कामी १६ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरीले १४ रन बनाएका थिए । ललित राजवंशीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
१ सय २० रनको जितको लक्ष्यका साथ मैदान उत्रिएको स्कटल्याण्डले १७ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेटेको थियो । नेपालका लागि गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिएका थिए ।