काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डलाई नामिबियाले १ सय ५४ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा अलआउट भएर १ सय ५३ रन बनाएको हो ।
नामिबियाका लागि लोह्यान्डरी लोरेन्स ५४ रनमा आउट हुँदा बेर्नाड स्कोल्टेजले ३० रन बनाए ।
जान ग्रिनले २५ रन बनाउँदा प्रिन्कि फ्रान्सले ११ रन बनाए ।
कप्तान ग्रेहार्ड इरास्मस र जान निकोल शुन्य रनमा आउट भए ।
नेपालविरुद्ध मंगलबार भएको खेलमा शतक प्रहार गरेका माईकल भान लिङ्गेन १४ बलमा ४ रन मात्र बनाए ।
उनी सफियान सरिफको बलमा बोल्ड आउट भए ।
मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३/३ विकेट लिए ।
नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तराष्ट्रिय खेलमा तीन खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ ।
सात टोली सहभागी विश्वकप लिग टू मा स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
नामिबिया भने ३१ खेलमा ३७ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
मंगलबारबाट सुरु त्रिकोणत्मक सिरिज फागुन ९ गतेसम्म संचालन हुनेछ । यस सिरिजमा सहभागी तीनवटै टिमले एक अर्काविरुद्ध समान २/२ खेल खेल्ने छन् ।