काठमाडौं । इंग्ल्यान्डले कतार विश्वकपको ट्रफी घर ल्याउन सकेन। क्वाटरफाइनलमा पराजित भएपछि इंग्लिस टोली ट्रफी विहीन फर्कियो ।
तर, ट्रफी विहीन भएपनि इंग्लिस टोली रित्तो हार फर्किएन्। इंग्लिस टोलीसँग थियो, 'एक बिरालो' । जसको नाम थियो डेभ।
विश्वकपका लागि कतार पुगेका इंग्ल्यान्डको टोलीसँग घुलमिल भएको बिरालो (डेभ) लाई इंग्लिस टोलीले बेलायत ल्याएको छ । जुन बिरालोको विश्वकपमा निकै चर्चा भएको थियो ।
इंग्लिस टोलीले डेभलाई भाग्यशाली बिरालो रहेको बताउदै आएका थिए । विशेषगरि केली वाल्कर र जोन स्टोन्सले उक्त बिरालोलाई मन पराएका थिए । स्टोन्सले उक्त बिरालोको नाम डेभ राखेका थिए ।
विश्वकप उपाधिसँगै इंग्लिस टोलीले बिरालो बेलायत लैजाने योजना भएको थियो । तर, क्वाटरफाइनलमा इंग्ल्यान्ड फ्रान्ससँग २-१ ले पराजित भएको थियो । यद्दपी इंग्लिस टोलीले कतारमा मित्र बनेका बिरालोलाई समेत इंग्ल्यान्ड पुर्राएको छ ।
उक्त बिरालोलाई परीक्षण र खोपहरूका लागि स्थानीय भेटेरिनरी क्लिनिकमा राखिएको छ । जहाँ चार महिना क्वारेन्टाइनमा बिताउनेछ । त्यसपछि उक्त बिरालोलाई वाल्कर र स्टोन्समध्ये एकले हेरचाह गर्नेछ।
कतारको सडकमा बेबारिसे बिरालो सामान्य जस्तै हो । दोहाको सडक, होटेल, रेस्टुरेन्ट, सपिङ मल जताजतै बिरालो पाईने गरेको छ । तर, डेभ मात्र भाग्यमानी बनेको छ ।