काठमाडौं । साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो ।
एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
३० मिनेटको अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे ।
तर, पेनाल्टीमा क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच नायक बने ।
ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे । रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके ।
रोड्रिगोको प्रहार क्रोएसियाका गोलकिपर लिभाकोभिचले बचाएका थिए भने मार्क्विन्होसको प्रहार पोस्टमा लागेको बाहिरिएको थियो ।
त्यसअघि अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले पाक्वेटाको पासमा १०५+१ औं मिनेटमा गोल गरेका थिए ।
यस गोलसँगै नेयमारले ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् ।
नेयमारको यो ब्राजिलका लागि ७७ औं गोल हो । पेलेले पनि ७७ गोल गरेका छन् ।
तर, खेलको ११७ औं मिनेटमा ब्रुनी पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
पेनाल्टीमा चुकेसँगै पाँच पटकको च्याम्पियन ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ ।
क्रोएसियाले भने सेमिफाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।