काठमाडौं । कतार विश्वकप २०२२ को उद्घाटन खेलमा आज आइतबार राति आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ ।
६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार र इक्वेडरबीचको उद्घाटन खेल हुनेछ । समूह 'ए' अन्तर्गतको उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
मध्ये पूर्वी एसियाली राष्ट्र कतारले पहिलो पटक विश्वकप खेल्न लागेको हो । आयोजक राष्ट्रको रुपमा कतार विश्वकपमा सिधै छनोट भएको हो ।
कतार विश्वकपको डेब्यु खेलमै जित निकाल्न चाहन्छ । जितसँगै कतार घरेलु विश्वकपमा सानदार सुरुआत गर्न चाहन्छ।
कतार एएफसी एसियन कप २०१९ को च्याम्पियन समेत हो । तर, दक्षिण अमेरिकी राष्ट्र इक्वेडरविरुद्ध पहिलो खेल खेल्नु कतारको लागि चुनौती हुनेछ ।
इक्वेडरले यस अघि तीन संस्करणको विश्वकप खेलिसकेको छ । इक्वेडरको यो चौंथो विश्वकप हो ।
जर्मनीमा भएको २००६ को विश्वकपमा इक्वेडरले समूह चरण पार गरेको थियो । समूह 'ए' मा रहेको इक्वेडर त्यहिँ सफलतालाई दोहोर्याउने योजनामा छ ।
हेड टु हेड :
कतारले इक्वेडरविरुद्ध हालसम्म तीन खेल खेलेको छ । तीनै खेल मैत्रीपूर्ण रहेको छ ।
कतार र इक्वेडरबीच सन् १९९६ मा दुई मैत्रीपूर्ण खेल भएको थियो । जसमा पहिलो मैत्रीपूर्ण १-१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो मैत्रीपूर्णमा इक्वेडरले २-१ को जित निकालेको थियो ।
कतार र इक्वेडरबीच पछिल्लो पटक २०१८ मा मैत्रीपूर्ण खेल भएको थियो । उक्त मैत्रीपूर्णमा कतारले ४-३ को जित निकालेको थियो ।
सम्भावित सुरुआती-११ :
कतार - साद अलशीब, बोउलेम खाउखी, बसम अलरावी, अब्देलकरिम हसन, पेड्रो मिगुएल, अब्दुलअजीज हातम, हसन अलहायडोस, करिम बौदियाफ, होमाम अहमद, अल्मोज अली, अक्रम अफिफ
इक्वेडर - अलेक्स्जेन्डर डोमिन्गुएज, रोबर्ट अर्बोलेडा, फेलिक्स टोरेस, पिएरो हिनकापी, पर्भिस एस्टुपिनान, जेगसन मेन्डेज, मोइसेस काइसेडो, गोन्जालो प्लाटा, जोसे सिफुएन्टेस, रोमारियो इबारा, इनर भ्यालेन्सिया