काठमाडौं । आयोजक अष्ट्रेलियाले आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा पहिलो जित निकालेको छ ।
पर्थमा मंगलबार अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।
श्रीलंकाले दिएको १ सय ५८ रनको लक्ष्य अष्ट्रेलियाले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
अष्ट्रेलियाको जितमा मार्कुस स्टोईनिसले १८ बलमा अविजित ५९ रनको अर्धशतकीय इनिङ खेले । कप्तान आरोन फिन्चले ३१ रन तथा ग्लेन म्याक्सवेलले २३ रन बनाए ।

श्रीलंकाका लागि धनन्जय डि सिल्भा,महेश तिक्षणा र चमिका करुणारत्नेले समान १/१ विकेट लिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।
श्रीलंकाका लागि पथुम निशंकाले ४५ बलमा ४० रन बनाएका थिए । चरिथा असलंकाले २५ बलमा अविजित ३८ रन बनाउँदा ३ चौका र २ छक्का प्रहार गरेका थिए ।
धनन्जय डि सिल्भाले २३ बलमा ३ चौकाको सहयोगमा २६ रन बनाएका थिए । चमिका करुणारत्नेले ७ बलमा अविजित १४ रन बनाएका थिए ।

अष्ट्रेलियाका लागि प्याट कमिन्स ,जोस हेजलउड, मिचेल स्टार्क, एस्टन अगर र ग्लेन म्याक्सवेलले समान १/१ विकेट लिएका थिए ।
अष्ट्रेलिया पहिलो जित सहित समूह एकको चौथो स्थानमा रहेको छ । अष्ट्रेलियाले २ खेलमा २ अंक जोडेको छ । श्रीलंका २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।