काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले पहिलो जित हात पारेको छ ।
सोमबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९ रनले पराजित गर्दै सुपर १२ को पहिलो खेलमा बंगलादेश विजयी भएको हो ।
बंगलादेशले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले अन्तिम बल अलआउट हुदै १ सय ३५ रन मात्र बनायो ।
नेदरल्यान्ड्सका लागि कोलिन एक्रिनमानले ४८ बलमा ६२ रन बनाए । पल भान मिक्रमले १४ बलमा २४ रन बनाए ।कप्तान एडवार्डले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
टस्किन अहमदले ४ ओभरमा २५ रन दिएर ४ विकेट लिए । हसन महुम्मदले २ तथा साकिब अल हसन र सौम्य सरकारले समान १/१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।
बंगलादेशका लागि आफिफ होसेनले ३८ रन बनाएका थिए । नजमुल होसेन शान्तोले २५ तथा मोसाडिक होसेनले अविजित २० रन बनाएका थिए । सौम्य सरकारले १४ तथा नुरुल हसनले १३ रन बनाएका थिए ।
नेदरल्यान्ड्सका लागि बास डि लिडि र पल भान मिक्रनले समान २/२ विकेट लिएका थिए । टिम प्रिनगिल, फ्रेड केलसन, शार्जिद अहमद र लोगन भान बिकले समान १/१ विकेट लिए ।
सुपर १२ मा बंगलादेशको यो ऐतिहासिक पहिलो जित हो ।
जितसँगै बंगलादेश १ खेलमा २ अंकका साथ समूह दुईको र्शीष स्थानमा उक्लिएको छ । पराजित नेदरल्याण्ड्स भने १ खेलमा अंक बिहिन रहदै चौथो स्थानमा रहेको छ ।