निजगढ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश स्तरीय छनोटको सेमिफाईनल समीकरण पुरा भएको छ । समुह चरणको सम्पूर्ण खेल सकिएसंगै प्रदेश स्तरीय छनोटको सेमिफाईनलमा पुग्ने टोलीको टुंगो लागेको हो ।
समुह चरणको अन्तिम खेलमा आईतबार समुह बीबाट बारा र पर्सा विजयी भएसंगै सेमिफाईनलमा प्रवेश गरेका छन् । समुह एबाट सिरहा र धनुषा यसअघि नै सेमिफाईनलमा प्रवेश गरिसकेका छन् ।
सेमिफाईनल प्रवेशका लागि महत्वपूर्ण मानिएको समुह चरणको अन्तिम खेलमा आईतबार बारा र पर्साले सहज जित निकालेका छन् ।
आइतबार सम्पन्न पहिलो खेलमा बाराले सर्लाहीलाई ५ विकेटले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सर्लाही ३८ ओभर ३ बलमा १ सय २७ रन बनाउदै अल आउट भयो ।
सर्लाहीका लागि अलि हसनले सर्वाधिक २५ रन बनाए । हसनले ४ वटा चौकाको मद्धतमा ३५ बलमा २५ रन बनाए ।
सर्लाहीका लागि राहुल महतोले २१, बिबेक ठाकुरले १८, रोशन पुलामी मगरले १८, अतिस दासले १५, सन्दिप खड्काले १२, रंजित यादवले ३, आशुतोष यादवले २ रन बनाए ।
विशाल पटेल, अमित महतो र चक्रधर अधिकारीले रन बनाउन सकेनन् ।
बाराकालागि कुमार थापाले सर्वाधिक ३ विकेट लिए । थापाले १० ओभर बलिङ गर्दै १८ रन खर्चिएर १ मेडन ओभर सहित ३ विकेट लिए ।
बाराका लागि उपकप्तान अरनिको यादवले ५ ओभर बलिङ गर्दै १७ रन खर्चिएर २ विकेट लिए । शंकर पौडेलले ५ ओभर बलिङ गर्दै १८ रन खर्चिएर १ ओभर मेडन राख्दै १ विकेट, निखिल सिङले १० ओभर बलिङ गर्दै २७ रन खर्चिएर २ मेडन सहित १ विकेट हात पारे ।
जितेन्द्र यादवले ४ ओभर ३ बलमा १७ रन खर्चिएर १ मेडन साहित १ विकेट हात पारे ।
जवाफी ब्याटिङमा उत्रिएको बाराले ५ विकेटको क्षतिमा १४ ओभर १ बलमै लक्ष्य पुरा गर्यो ।
बाराको जितमा रवी साहले सर्वाधिक ६० रन बनाए । बिस्फोटक ब्याटिङ गर्ने क्रममा साहले ४८ बलमा ६ वटा छक्का र ५ वटा चौका प्रहार गरे ।
बाराकालागि उपकप्तान अरनिको यादवले २ वटा छक्का र ५ वटा चौकाको मद्धतमा १८ बलमा ४१ रन बनाए । त्यस्तै आदील आलमले १ छक्का र १ चौकाको प्रहार गर्दै ६ बलमा १२ रन बनाए ।
साहिल पटेलले १० बलमा १ वटा छक्का सहित ११ रन बनाए । सर्लाहीका विशाल पटेलले सर्वाधिक ४ विकेट लिए । पटेलले ७ ओभर १ बलमा ८१ रन खर्चिए भने सन्दिप खड्काले ५ ओभरमा ३७ रन खर्चिएर १ विकेट लिए ।
समुह चरणको खेलमा २ जित र १ हार सहित बारा समुह बीको पहिलो स्थानमा रहदै सेमिफाईनलमा प्रवेश गरेको छ । एक खेल पनि जित्न नसकेको सर्लाही बाहिरीएको छ ।
आईतबार सम्पन्न अर्को खेलमा पर्साले रौतहटलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको रौतहटले ४५ ओभर ५ बलमा अल आउट हुँदै १ सय ७४ रन बनायो । रौतहटकालागि रणबिर यादवले ६९ बलमा ४० रन बनाए । राजेश यादवले ५० बलमा ३९ रन जोडे ।
पर्साकालागि संसद अन्सारीले ५ विकेट र सैफुल्लाह अन्सारीले ४ विकेट लिए । जवाफी ब्याटिङमा पर्साले २६ ओभर ४ बलमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।
पर्साकालागि इमरान शेखले ७३ बलमा ७१ रन बनाए । अल्फाज अन्सारीले १६ बलमा २४ रन जोडे । रौतहटकालागि नितेश यादवले २ र सुरज साहले १ विकेट हात पारे ।
समुह चरणमा २ जित र एक हार सहित पर्सा समुह बीको दोश्रो स्थानमा रहदै सेमिफाईनलमा प्रवेश गर्यो । समान २ जित र १ हार व्यहोरेको रौतहट नेट रनरेटको आधारमा समुह चरणबाटै बाहिरिएको छ ।