काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई १२ वर्षसम्मको कैद सजाय माग दाबी गर्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरेको छ ।
सन्दीपमाथिको अनुसन्धान सक्दै प्रहरीले कैद सजाय माग दाबी सहित सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरेको हो ।
मुलुकी फौजदारी अपराधसंहिता अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । सोही प्रावधान अनुसार अनुसन्धानमा खटिएको प्रहरीले सन्दीपलाई १२ वर्षसम्मको कैद सजाय माग गरेको हो ।
सन्दीपमाथि १७ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । प्रहरीले बलात्कारी पुष्टि भएको दाबी सहित कैद सजाय मागदाबी गरेको हो ।
काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको आरोप सहित १७ वर्षिया किशोरीले दिएको जाहेरीको आधारमा प्रहरीले सन्दीपलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले पीडित किशोरीको बयानका आधारमा स्वास्थ्य जाँच समेत गरेको थियो । प्रारम्भिक अनुसन्धानमा सन्दीपको सलग्नता देखिएपछि प्रहरीले सन्दीपलाई हिरासतमा राखेर अनुसन्धानलाई अघि बढाएको छ।
सन्दीपमाथि सुरु भएको अनुसन्धानको फाइल शुक्रबार सरकारी वकिलमा पुगेको थियो । मंगलबारबाट तिहारको बिदा भएकाले थुनछेक अर्को सार्वजनीक बिदा सकिएपछि मात्र हुने देखिन्छ ।
सरकारी वकिल कार्यालयले आईतबार जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ताको तयारी गरेको छ । थुनछेक बहशपछि मात्र सन्दीपलाई तारेखमा छाड्ने वा थुनामा पठाउने भन्ने टुङ्गो लाग्नेछ ।