काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा श्रीलंका विजयी भएको छ । होवार्टमा आईतबार भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले पराजित गरेको हो ।
आयरल्याण्डले दिएको १ सय २९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले ४३ बलमा अविजित ६८ रनको अर्धशतकिय पारी खेले । धनन्जय डि सिल्भा र चरिथा असलंकाले समान ३१/३१ रन बनाए ।
आयरल्याण्डका लागि गारेथ डिलेनीले १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो ।
आयरल्याण्डका लागि ह्यारी टेक्टरले ४२ बलमा ४५ रन जोडे भने पल स्टर्लिङले २५ बलमा ३४ रन बनाएका थिए ।
जर्ज डिकरेलले १४ तथा लुर्कन टुर्करले १० रन बनाएका थिए । अन्यले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
श्रीलंकाका लागि महेश तिक्षणा र वानिन्दु हसरंगाले २/२ तथा विनुरा फर्नान्डो, लाहिरु कुमारा, चमिका करुणारत्ने र धनन्जय डि सिल्भाले समान १/१ विकेट लिए ।
सुपर १२ मा पहिलो जितसँगै श्रीलंका समूह एकको दोस्रो स्थानमा उक्लिएको छ । हार पश्चात आयरल्याण्ड भने समूह एकको पाँचौं स्थानमा रहेको छ ।