निजगढ। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि सप्तरीमा जारी मधेश प्रदेश स्तरीय छनोटमा पर्सा र रौतहट विजयी भएका छन् । शनिबार सम्पन्न पहिलो खेलमा रौतहटले बारालाई ६ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको बाराले ३४ ओभर १ बलमा अल आउट हुदै १ सय ४० रन बनायो । बाराकालागि मेघराज महराले ४२ बलमा २९ रन बनाए । मोहम्मद आदील आलमले १२ बलमा १६ रन बनाए ।
रौतहटका लागि सागर पासवान र राजेश यादवले समान ३-३ विकेट लिए ।
१ सय ४१ रनको जवाफी ब्याटिङमा उत्रिएको रौतहटले २६ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । रौतहटका लागि सन्नी सिङले २४ बलमा ४४ रन बनाए भने अरविन्द जैसवालले ४६ बलमा ३० रन बनाए ।
बाराका जितेन्द्र यादवले २ विकेट लिदा मनु हवारिले १ विकेट हात पारे ।
दोश्रो खेलमा पर्साले सर्लाहीलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सर्लाही २९ ओभर ४ खेल्दै ८१ रन मै अल आउट भयो ।
पर्सामाथि निरिह बनेको सर्लाहीका ओपनर ब्याटर बिबेक ठाकुरले सर्वाधिक ४० रनको योगदान गरे । ठाकुरले ९० बलको सामना गर्दै ७ वटा चौका प्रहार गर्दै ४० रन बनाए ।
सर्लाहीका लागि रंजित यादवले ११, आशुतोष यादव र विशाल पटेलले समान ७, अतिस दासले ६, अलि हसनले ४, अमित महतोले ३, सौरभ सुमन्त र सन्दिप खड्काले समान १ रन बनाए । सर्लाहीका रोशन पुलामी मगर र चक्रधर अधिकारीले भने खाता खोल्न सकेनन्।
पर्साका रंजित कुमारले ९ ओभर बलिङ गर्दै ४ ओभर मेडन सहित २० रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । ब्युश यादवले ८ ओभर बलिङ गर्दै १ ओभर मेडन सहित ३० रन खर्चिएर ३ विकेट, संसद अन्सारीले १ ओभर ४ बलमा १ रन खर्चिएर २ विकेट र अल्फाज मन्सुरीले ५ ओभर बलिङ गर्दै ११ रन खर्चिएर १ विकेट हात पारे ।
जवाफी ब्याटिङमा पर्साका इमरान शेखले ३२ बलमा १ छक्का र ४ चौकाको मद्धतमा सर्वाधिक ४४ रन बनाए । सन्तोष कार्कीले १३ बलमा ४ वटा चौका प्रहार गर्दै १७ रन बनाउदा सुरज प्रसाद कुर्मीले १५ बलमा ३ वटा चौका प्रहार गर्दै १८ रन बनाए ।
सर्लाहीकालागि विशाल पटेलले २ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत समुह चरणको अन्तिम खेलमा आईतबार बारा र सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ भने पर्साले रौतहटसंग प्रतिस्पर्धा गर्नेछ ।
समुह बी अन्तर्गत अंक तालिकाको शीर्ष स्थानमा दुवै खेलमा जित हात पारेको रौतहट, एक जित र एक हार व्यहोरेको बारा दोश्रो र नेट रनरेटको आधारमा समान एक जित र एक हार सहित पर्सा तेस्रो रहेको छ । दुवै खेलमा पराजित सर्लाही चौथो स्थानमा छ ।
समुह ए बाट शीर्ष दुईमा रहदै सिरहा र धनुषा सेमिफाईनलमा प्रवेश गरिसकेका छन् ।