काठमाडौं । अष्ट्रेलियामा जारी रहेको आठौं संस्करणको टी ट्वान्टी विश्वकपमा घरेलु टोलीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
आयोजक तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया प्रतियोगितामा न्युजिल्याण्डसँग ८९ रनले पराजित भएको हो ।
सिड्नी क्रिकेट मैदानमा २ सय १ को लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ दशमलब १ ओभरमा अलआउट हुदै १ सय ११ रन मात्र बनाउन सक्यो ।
अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २० बलमा २८ रन तथा प्याट कमिन्सले १८ बलमा २१ रन बनाए । मिचेल मार्शले १२ बलमा १६ रन बनाए । आरोन फिन्चले १३ तथा टिम डेबिडले ११ रन बनाए ।
अष्ट्रेलियालाई कम रनमा रोक्न न्युजिल्याण्डका मिचेल स्यान्टेनरले ४ ओभरमा ३१ रन खर्चिएर ३ विकेट लिए ।
टिम साउथीले २ दशमलव १ ओभरमा ६ रन दिएर ३ विकेट लिए । ट्रेन्ट बोल्डले ४ ओभरमा २४ रन दिएर २ विकेट लिए । लक्कि फगुर्सन र ईश सोधीले समान १-१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय रन बनाएको थियो । न्युजिल्याण्डका लागि ओपनर डेबिड कन्वेले ५८ बलमा ७ चौका र २ छक्काको मद्दतले अविजित ९२ रनको अर्धशतकिय ईनिङ खेले ।
अर्का ओपनर फिना एलेनले १६ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४२ रन बनाएका थिए । जेम्स निशमले १३ बलमा अविजित २६ रन तथा कप्तान केन विलियम्सले २३ बलमा २३ रन बनाएका थिए ।
अष्ट्रेलियाका लागि जोस हेजलउडले ४ ओभरमा ४१ रन खर्चिएर २ विकेट लिएका थिए । एडम जाम्पाले ४ ओभरमा ३९ रन दिएर १ विकेट लिए ।
यो जितसँगै न्युजिल्याण्डले सुपर-१२ को पहिलो खेलमा जित हात पारेर समूह एकको शीर्ष स्थानमा रहेको छ । आज दोस्रो खेलमा समूह एकको खेलमा इंग्ल्याण्ड तथा अफगानस्तान खेल्दैछन् ।