काठमाडौं । आयरल्याण्डले दुई पटकको टी-ट्वान्टी विश्व च्याम्पियन वेस्ट इण्डिजलाई पराजित गरि विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ ।
अष्ट्रेलियामा जारी रहेको ८ औ संस्करणको टी-ट्वान्टी विश्वकपमा आयरल्याण्ड पहिलो राउण्डको समूह 'बी' बाट सुपर १२ मा प्रवेश गर्ने पहिलो टिम बनेको छ । पराजित दुई पटकको विश्व च्याम्पियन वेस्ट इण्डिज भने प्रतियोगिताबाट बाहिरिएको छ ।
होबार्टमा भएको खेलमा सुपर १२ मा प्रवेश गर्ने क्रममा आयरल्याण्डले वेस्ट इण्डिजलाई ९ विकेटले पराजित गर्यो । वेस्ट इण्डिजले दिएको १ सय ४७ रनको लक्ष्य आयरल्याण्डले १७ ओभर ३ बलमा १ विकेट गुमाएर पुरा गर्यो ।
आयरल्याण्डको जितमा पल स्टलिङ्गले ४८ बलमा ६ चौका र २ छक्काको मद्दतले अविजित ६६ रनको अर्धशतकीय ईनिङ खेले । लुर्किन टुर्करले ३५ बलमा १ चौका र ३ छक्काको मद्दतमा अविजित ४७ रन बनाए । कप्तान एण्डि बालबर्नीले २३ बलमा ३७ रन जोड्दा ३ चौका र ३ छक्का प्रहार गरे ।
वेस्ट इण्डिजका लागि अकिल होसेनले १ विकेट लिए । त्यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । वेस्ट इण्डिजका लागि ब्राण्डन किंग्सले अविजित रुपमा ४८ बलमा ६ चौका र १ छक्का सहित ६२ रनको अर्धशतकिय ईनिङ खेलेका थिए ।
जोहन्सन चाल्र्सले १८ बलमा २४ रन बनाउँदा आडेन स्मिथले १२ बलमा १९ रन बनाई अविजित रहेका थिए । इभेन लुईस र कप्तान निकोलस पुरनले समान १३/१३ रन बनाएका थिए ।
आयरल्याण्डका लागि गारेथ डिलेनीले ३ तथा बारी म्याककार्थी र सिमि सिंहले समान १/१ विकेट लिए । यस जितसँगै ३ खेलमा ४ अंकका साथ आयरल्याण्ड सुपर १२ मा प्रवेश गरेको छ । आयरल्याण्ड टी-ट्वान्टी विश्वकपको सातौं सहभागीतामा दोस्रो पटक दोस्रो राउण्डमा प्रवेश गरेको हो ।
२००९ मा इंग्ल्याण्डमा भएको विश्वकपमा उसले यो सफलता पाएको थियो । पहिलो राउण्डको समूह 'ए' बाट श्रीलंका र नेदरल्याण्ड्स सुपर १२ मा पुगिसकेका छन् ।