काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा श्रीलंकाले लगातार दोस्रो जित हात पारेको छ ।
लगातार दोस्रो जित हात पार्ने क्रममा श्रीलंकाले नेदरल्याण्ड्सलाई पराजित गरेको हो । नेदरल्याण्ड्सले भने तेस्रो खेलमा पहिलो हार व्यहोरेको हो ।
भिक्टोरियाको दक्षिण जिलोङ्गमा भएको खेलमा श्रीलंका १६ रनले विजयी भएको हो । श्रीलंकाले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनायो ।
नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउनले अविजित ७१ रनको अर्धशतकीय ईनिङ खेले । अर्धशतक बनाउँने क्रममा डाउनले ५३ बलमा ३ छक्का र ६ चौका प्रहार गरे । कप्तान स्कट एडवार्डले २१ रन जोडे । टोम कुपरले १६ तथा बास डि लिडले १४ रन बनाए । नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
श्रीलंकाका लागि वानिन्दु हसरंगाले ३ तथा महेश तिक्षण २ विकेट लिए । लाहिरु कुमारा र विनुरा फर्नान्डोले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेका श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल मेन्डिसले ४४ बलमा ५ चौका र ५ छक्काको मद्दतले ७९ रनको अर्धशतकीय पारी खेलेका थिए । चरिथा असलंकाले ३१ जोड्दा भानुका राजपाक्षेले १९ रन बनाए ।
पथुम निशंकाले १४ रनमा आउट भए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
नेदरल्यान्ड्सका लागि पल भान मिक्रेन र बास डि लिडले समान २/२ विकेट लिए । फ्राड केल्सेन र टिम भान डेर गुग्टेनले समान १/१ विकेट लिए ।
जितसँगै श्रीलंका ३ खेलमा ४ अंकका साथ पहिलो राउण्डको समूह 'ए' को पहिलो स्थानमा उक्लिएको छ । यस जितसँगै पूर्व च्याम्पियन श्रीलंकाको दोस्रो राउण्ड प्रवेशको सम्भाबना कायमै रहेको छ ।
हारसँगै ३ खेलमा ४ अंक रहेको नेदरल्याण्ड्स रनरेटमा पछि परेर दोस्रो स्थानमा झरेको छ । समूह 'ए' को अन्तिम खेलमा आज नै नामिबीया र यूएई खेल्ने छन् ।
यस खेल पछाडी यस समूहबाट दोस्रो राउण्डमा पुग्ने दुई टोलीको टुङ्गो लाग्नेछ ।