काठमाडौं । वेस्ट इन्डिजले अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ।
बुधबार भएको खेलमा जिम्बाबेलाई ३१ रनले हराउँदै पूर्व च्याम्पियन वेस्ट इन्डिजले अर्को चरण प्रवेशको सम्भावना कायमै राखेको छ ।
वेस्ट इन्डिजले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको जिम्बाबे १८.२ ओभरमा अलआउट हुदै १ सय २२ रन मात्र बनायो ।
जिम्बाबेका लुन्कि जुवान्काले २२ बलमा २९ रन जोडे । वेस्लि मधिभिरीले २७ रन जोड्दा रायन वर्लले १७ रन बनाए । सिकन्दर राजाले १४ रन बनाउँदा कप्तान रिगिस चाकाब्भाले १३ रन बनाए ।
वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले ४ तथा जासन होल्डरले ३ विकेट लिए ।
अकिल होसेन,ओडेन स्मिथ र ओबेड म्याकोईले समान १/१ विकेट लिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि जोहन्सन चाल्र्सले ४५ रन बनाउँदा रोभमन पावेलले २८ रन बनाएका थिए ।
अकिल होसेनले अविजित २३ तथा ईभान लुईसले १५ रन बनाएका थिए । कायल मेर्यसले १३ रन जोडे भने कप्तान निकोलस पुरनले ७ रन जोडेका थिए ।
जिम्बाबेका लागि सिकन्दर राजाले ३ तथा ब्लेसिङ्ग मुजारवानीले २ विकेट लिएका थिए । सेन विलियम्सले १ विकेट लिए।
जितसँगै वेस्ट इन्डिजले २ खेलमा २ अंक जोडेको छ र समूह 'बी' को तेस्रो स्थानमा रहेको छ । जिम्बाबे भने २ खेलमा २ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।