अर्जुन काफ्ले
पथरी, मोरङ । पथरी शनिश्चरे नगरभित्र वर्षेनी क्रिकेटका प्रतियोगिताहरु हुने गरेको छ । तर, क्रिकेटका सबै प्रतियोगिता फुटबल क्लबले संरक्षण गरेको छ । प्रतियोगिता नै फुटबल मैदानमा आयोजना हुन्छ ।
क्रिकेट मैदानको अभाव बाबजुत पथरी शनिश्चरेमा क्रिकेट प्रतिको ´क्रेज` भने लोभलाग्दो छ ।
मैदान अभावका कारण कतिपय प्रतियोगिताहरु रोकिएका छन् । पथरी शनिश्चरेमा क्रिकेट खेलप्रतिको आर्कषण बढ्दो भएपनि मैदान अभावले क्रिकेटले फड्को मार्न नसकेको सरोकारवालाहरु बताउने गरेका छन् ।
पूर्वाधार अभावकै कारण यहाँ आयोजना हुने विभिन्न प्रतियोगिताहरु स्तरीय बन्न नसकेको उनीहरुको गुनासो छ ।
´पूर्वाधार अभाव झेलिरहेको भएपनि प्रतियोगितामा स्थानीय खेलाडी र दर्शकको उपस्थितीले खेलप्रतिको आकर्षण भने उत्साहजनक रहेको छ,' पूर्व स्थानीय जनप्रतिनिधी विरोज मगर भन्छन्, 'फुटबल ग्राउन्ड नै क्रिकेट प्रतियोगिता गर्ने मैदान भएका छन् । मैदान अभावका बाबजुत खेलाडीले खेलिरहेका छन् ।'

विगत ८ वर्षदेखि पूर्व क्षेत्रकै परिचित विरेन्द्रनगर च्यालेन्ज कप प्रतियोगिताको आयोजक विरेन्द्रनगर क्रिकेट क्लबका राजेश कुइकेल राम्रो खेल मैदान नभएको कारण सोचे जस्ता खेलाडी र टिमहरु प्रतियोगितामा सहभागी हुन नसकेको बताउछन् ।
कुइकेल भन्छन्,‘पथरीमा भने जस्तो क्रिकेट मैदान नै छैन । टेनिस वलमा प्रतियोगिताको खेल खेलाउनु पर्ने अवस्था छ । राष्ट्रियस्तरमा चर्चित खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराउन सकिएको छैनन् ।’
स्थानिय रत्न क्रिकेट क्लबका राकेश राई भन्छन्,‘नयाँ खेलाडी उत्पादन गर्न पनि खेल मैदान चाहिन्छ । तर क्रिकेट मैदान निर्माणमा कतैबाट पहल भएको छैन ।’
उनी पथरीमा खेलाडीलाई अभ्यासको लागि पनि एउटा क्रिकेट रंगाशाला वनाउनु पर्ने आवश्यकता रहेको बताउछन् ।
पथरी शनिश्चरे क्षेत्रमा १ नम्बर प्रदेश स्तरीय २ वटा र पथरी शनिश्चरे प्रिमियर लिग र अन्य स्थानीयस्तरको क्रिकेट प्रतियोगिता आयोजना हुदै आएको छ ।
सबै प्रकारका प्रतियोगिता खेल मैदानको अभावमा फुटबल मैदानमा आयोजना हुदै आएको छ ।
जनता माविको मैदानमा हुने विरेन्द्रनगर च्यालेन्ज कपमा राष्ट्रिय टोलीका मेहवुव आलम, सिद्धान्त लोहनी, ललित नारायण राजवंशी लगायतले पनि सहभागिता जनाइसकेका छन् ।
सो प्रतियोगितामा १ नम्वर प्रदेशबाट खेलिरहेका क्रिकेटरहरुको सहभागिता रहने गरेको छ । जनता माविले मैदान क्षेत्रमै भवन बनाएपछि ३ वर्ष देखि सो प्रतियोगिता हुन सकेको छैन ।

पछिल्लो वर्ष नगरबाट खेलाडी उत्पादन गर्न सुरु गरिएको पथरी शनिश्चरे प्रिमियर लिग पनि फुटबल मैदानमै सन्चालन गर्नु परेको लिग आयोजकका अरुण राई बताउछन् ।
'मैदान पनि व्यवस्थित छैन । पथरी चौक जाते मोडमा रहेको पथरी स्पोटिङ क्लबको स्वमित्वको पथरी रंगाशाला र जिरिखिम्तीको डाँस मोरंगी सामुदायिक बनले संरक्षण गरेको २ मैदानमा प्रतियोगिता गर्नु पर्ने बाध्यता आयोजकलाई छ ।' राई बताउछन् ।
जिरिखिम्तीको मैदान क्रिकेटका लागि उपयुक्त नभए पनि अन्य मैदानको बिकल्प आयोजकसँग छैन । पानी पर्ने बितिक्कै मैदान बिग्रीने कारण पनि समस्या थपिएको छ । दिनभर प्रतियोगिता गरे पनि साँझ फुटबलको प्रशिक्षण तीनै मैदानमा हुदा थप समस्या आएको छ ।
स्थानीय सरकार र यहाँका व्यापारिक संस्थाले क्रिकेट खेललाई महत्व नदिदा खेलको विकास हुन नसकेको पनि सरोकारवालाहरुको गुनासो छ । क्रिकेट प्रतियोगिता गरेर यो क्षेत्रको पहिचान बनाउन गरिएको प्रयासमा उनीहरुको सहयोग कम हुने गरेको सरोकारवालाहरु बताउछन् । स्तरिय क्रिकेट मैदान निर्माण गर्न सके पथरी शनिश्चरेलाई क्रिकेट ‘हव’का रुपमा विकास गर्न सकिन्छ ।