काठमाडौं । नेपालमा आयोजना भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप सम्पन्न भईसकेको छ । नयाँ च्याम्पियन बंगलादेश महिला साफको गद्दीमा विराजमान भईसकेको छ ।
धेरै धेरै बधाई टिम बंगलादेशलाई । उनीहरु उपाधिको हकदार थिए । तर घरेलु रंगशालामा १५ हजार भन्दा बढी समर्थक झरीमा भिज्दै निराश भए । महिला टोलीले नेपाली खेलकुदकै लागि कोशेढुंगा साबित हुन सक्ने अवसर गुमायो । यो घाटा नेपाली फुटबललाई भएकै हो जसलाई नजर अन्दाज गर्न भने मिल्दैन ।
१२ वर्षको यस यात्रामा नेपालले हरेक पटक कुनै न कुनै कुरा सिक्दै आएको छ । यसपटक फाइनललाई कहिलै 'अन्डरइस्टिमेट' गर्नु हुदैन भन्ने कुरा पनि सिकेको छ ।
कस्तो रह्यो नेपालको महिला साफ च्याम्पियनसिप २०२२ को यात्रा ?
रोड टु फाइनल-
नेपालले महिला साफ च्याम्पियनसिपमा अहिलेसम्म पाँच वटा संस्करणमा फाइनल खेल्यो। नेपालले आफ्नो पहिलो साफ महिला च्याम्पियनसिपको उपाधि खोजिरहेको थियो। साबित्रा, सरु, गिता, अनिता, प्रिती लगायतका स्टारले भरिएको स्कवाडको साथमा घरेलु फुटबलमा छाप छाडेका दिपा शाही, अमिषा, समिक्षालाई कुमारले छनोट गरे । करिब सात हप्तासम्म टोलीले मेहनत गर्यो । धेरै सकारात्मक कुराहरु भए । रेखा फर्किइन, एन्जिला कप्तान नियुक्त भईन । केहि समस्या पनि उत्पन्न नभएका होइनन् । मुखैमा अनुभवी कप्तान रेनुकाले चोट बोक्नु, पुजा राना घाइते हुनु, मन्जली फिट नहुनु आदि । कुमारले यसलाई उत्कृष्ट छनोट भनेका थिए । नेपालले प्रतियोगिताको स्पष्ट दाबेदारको रूपमा सुरु गर्यो। टोलीले आफ्नो पहिलो दुई खेल जितेर समूह विजेता बन्दै उपाधि जित्ने बाटोमा लम्कियो ।
सावित्रा र अनिता चम्किँदा नेपालले विजयी सुरुआत गर्यो । दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४-० गोलले हराउँदै नेपालले सुखद सुरुआत गरेको थियो । मिडफिल्डर दिपा र फरवार्ड अमिषाले सुरुआती-११ मा पर्दै डेब्यु गरे । समिक्षा भने ७४ औं मिनेटमा सरु लिम्बुको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरिन् । नेपालबाट सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरिन् । नेपालले कुनै गोल कन्सिड गरेन ।
दोस्रो खेलमा डेंगुको संक्रमण भएर ज्वरो आएकोले स्टार सावित्रा श्रीलंकासँगको खेलमा अनुपस्थित थिइन् । यहाँबाट चिन्ता बढ्न सुरु भएको थियो तर नेपालले सहज प्रतिद्वन्द्वीविरुद्ध सावित्राको कमी महसुस हुन दिएन । श्रीलंकालाई ६-० गोलको फराकिलो जित निकाल्दै नेपालले सेमिफाइनल पुग्यो । अमिषा कार्कीले दुई गोल गरिन् । यस्तै कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरिन् । सबैकुरा पर्फेक्ट थियो । यहाँ पनि नेपालले गोल कन्सिड गरेन।
यहि समयमा उता बंगलादेशको भारतमाथिको जितले समिकरण पूरा बदलियो । नेपालले भारतविरुद्ध सेमिफाइनलमै खेल्नुपर्ने । कुमारको लागि यो २०१६ साफको रिकल थियो । सबैकुरा उस्तै ।
चिन्ता थियो भारतविरुद्ध के होला ? सावित्रा खेल्ने नखेल्ने टुङगो थिएन । तर नेपाल यसपटक पूरा तयार थियो यो प्रतिष्ठाको लडाइमा । हजारौं दर्शकको उपस्थिति थियो किनकी सामुने भारत थियो । सम्भवतः नेपाली फुटबलको सबैभन्दा ठुलो राइभल ।
सेमिफाइनलमा साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुग्यो । कसलाई ? भारतलाई ।
महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित थियो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउँन सकेको थिएन । यस खेलमा प्रिति र दिपाले आफ्नो करियरकै उत्कृष्ट खेल देखाए । रश्मीले साफ इतिहासकै नेपालको प्रसिद्ध गोल गरिन । यसपछिको नेपाली जनताको खुसी शब्दमा बयान गर्न सकिदैन । यसरि बुझौँ कि नेपालले आधा ट्रफी उचालिसकेको थियो । कुमारले पनि ६ वर्षपछि सबैभन्दा ठुलो उपलब्धि हासिल गरे । यहाँ पनि गोल कन्सिड गरेन ।
जज्मेन्ट डे -
अन्तत : आयो त्यो दिन । घरेलु मैदानमा उत्सवको सबै तयारी पूरा भईसकेको थियो । तर, भनिन्छ नि नेभर सेलिब्रेट टु अर्लि ।
साफमा कहिलै नहारेको बंगलादेशसँग हार्दा त्यो पनि फाइनलमा । पत्याउनै नसकिने । आँखाले जे देखे विश्वासनै गर्न नसकिने । बंगलादेशी झन्डा रंगशालामा फहराउँदा पचाउनै नसकिने । एक किसिमले सपना जस्तो लाग्ने रंगशालाको दृश्य । सायद लगातार वर्षेको झरिमा धेरैले आफ्ना आँशु लुकाए होलान् । तर सत्य त सत्य नै हो । कसले बदल्नेरु नेपालको पहिलो साफ जित्ने सपना बंगलादेशले चकनाचुर पारिसकेको थियो । साफको नयाँ च्याम्पियन बंगलादेश त्यो साँझ उत्सबमा झुम्यो ।
कहाँ चुक्यो नेपाल ?
नेपालको कमजोर डिफेन्स । सहि सुन्नु भयो । नेपालको डिफेन्स साँच्चै कमजोर थियो र? कुमार भन्थे, नेपाको डिफेन्स टेस्ट भएको थिएन । त्यो साँचो हो । यसैले तयारीमा पनि उनले डिफेन्स बलियो पार्न सबै कोशिस गरे । भारतसँग केहि हदसम्म टेस्ट भयो तर हामीलाई थाहा छ यो भारत संघर्षरत थियो । र, नेपाली डिफेन्डर विशेषगरी गिता यो दिन छाइन् । नेपाल जसो तसो गोल रक्षा गर्न सफल भयो । तर फाइनलमा डिफेन्सबाट के गल्ती भए हामी सिरियल्ली कुरा गर्नेछौँ।
फाइनल खेलमा पहिलो गोलले ठुलो महत्व बोक्छ । जसले पहिलो गोल गर्छ त्यो टोली खेलमा हाबी हुन पाउँछ । बंगलादेशले पहिलो गोल गर्दा नेपालको कमजोर डिफेन्स एक्स्पोज भयो ।
खेल सुरु भएको १० मिनेटमै अचानक गोलोमले अनुभवी मिडफिल्डर मोसमत जहा सोप्नलाई बाहिर बोलाए । उनले पछिल्लो खेलमा चोट बोकेकी थिइन् तरपनि उनलाई सुरुआत गराइएको थियो । गोलोमले उनको स्थानमा साम्सुनाहार जुनिएरलाई मैदानमा पठाए । यो उनको आश्चर्यजनक कदम थियो । तर गोलोमले आफ्नो निर्णयमा बिश्वास गरे । ठिक यहिँ क्षणबाट नै खेल नेपालको हातबाट गुम्न सुरु भईसकेको थियो । साम्सुनाहार मैदान प्रवेश गरे लगत्तै आफ्नो प्रभावशाली प्रदर्शन देखाउन थालिन । बिशेष गरि उनको पेसले नेपाललाई सबैभन्दा धेरै दुख दियो । फाइनलमा नेपालको डिफेन्सलाईन बिशेषगरि हिरा कुमारी भुजेललाई उनले तोडिन भन्दा फरक पर्दैन । उनको मुभमेन्ट यति फ्लेक्जिबल थियो कि उनी आरामसँग डिफेन्स बाइपास गर्दै पोजिसनमा जान सक्थिन । मैदान छिरेको ३ मिनेटमै साम्सुनाहारले गोल गरिन ।
साम्सुनाहारले फिनिस गर्नुअघि त्यो क्रसलाई रोक्न नेपाल असफल भयो । नेपालले पाएको थ्रो इनमा हिरा कुमारी भुजेल सरुलाई भेट्न चाहन्थिन । कर्नरको नजिक सायदै कुनै थ्रो इन आफ्नै हाफमा दिने गल्ति कसैले गर्छ । जबकी सरुलाई सँगसँगै मार्क गर्दै सजिदा अख्तर पनि आइरहेकी थिइन् । सरुको फर्स्ट टच कमजोर रह्यो । हिरासँग च्यानल मिलाउन सकिनन् त्यसको मौका सजिदाले उनीहरुको बीचबाट तत्काल बल जित्दै अगाडी बढीन । सँगै रहेकी खतरनाक मोनिका चक्माले आफुलाई अनलोड गरिन । पहिलो क्रस ब्लक हिरा कुमारी भुजेलले ब्लक गरिन तर मोनिका आफ्नो उत्कृष्ट स्किलले सरु र हिरा दुबैलाई मात दिदै क्रस निकाल्न सफल भईन ।
मोनिका चक्माको क्रसलाई साम्सुनाहारले पहिलो टचमै फिनिश गरिन् । अचम्म त के छ भने साम्सुनाहार जुन पोजिसनमा थिइन् उनकै अगाडी नेपालको प्रमुख सेन्टरब्याक जोडी गीता राना र पुनम जर्घा थिए । उनीहरु दुबैजनाको माथिबाट साम्सुनाहारले गोल गरिन । उनीहरुले पत्तै पाएनन् साम्सुनाहारलाई कसले मार्क गर्ने र उनी कसरी त्यहाँ आईपुगिन ।
त्यसपछि नेपाल स्वतः दबाबमा आयो किनकी गोल चाहियो अब । त्यसपछि त्यही हतार हतारमा सुरुभयो बारम्बार गल्तिको शिलशिला । खराब फर्स्ट टच । मिस पास । जसले गर्दा कुनै अवसर सिर्जना हुन सकेन । नेपाल हतास थियो १५ हजार समर्थकका अगाडी । बंगलादेशको दोस्रो गोलले त नेपालको सम्भावना निकै घटाइसकेको थियो । पुनम जर्घाको कमजोर कन्ट्रोलको फाइदा उठाउदै साम्सुनाहारले नै डिस्पोजेज गरिन । र, सबिनालाई सेटअप गरिदिईन । अन्तिम गोल त नेपालले काउन्टरमा भेटेको थियो । कुमारले डिफेन्डर हटाएर अमिषालाई मैदान उतारेपछि नेपालले ब्याक थ्री खेलेको थियो । तर मिडफिल्डले बल पोजेसन गुमाउँदा डिफेन्डरको कुनै जोर चलेन ।
बंगलादेशलाई सहज प्रतिद्वन्दी ठान्नु -
धेरैलाई लाग्ला यो बकवास हो । तर नदेखिएको कुनै कोणमा यो 'अपिनियन' को आफ्नो ठाउ अवश्य छ । किनकि सधैँको बाधक भारतलाई सेमिफाइनलमा पाखा लगाउदा तुलनात्मक हिसाबमा बंगलादेश फाइनलमा हुनु नेपालको लागि टाउको दुखाई थिएन । नेपाल आवस्यकता भन्दा बढी 'रिल्याक्स' थियो भन्दा हुन्छ । उसो त यो आ-आफ्नो सोचको परिणाम हुन सक्ला तर फुटबल वृत्तमा चर्चा के पनि छ भन्दा भारतलाई पराजित गरिसकेपछी नेपाली टोलीले आफ्नो धरातल बिर्सने गरेर बंगलादेशलाई 'अन्डरइस्टिमेट' गरेको थियो भन्ने छ । हो निश्चय पनि नेपाल फुटबलप्रति असाधारण मोह राख्ने देश हो । यहाँ खेल र खेलाडीलाई उच्च सम्मान दिने गरिन्छ ।
भारतविरुद्धको जितले नेपाली खेलकुदमा ठुलो अर्थ राख्छ । कतै त्यो जितको उत्साहमा खेलाडीहरु बिचलित त थिएनन । साफमा सधै पराजित हुँदै आएको बंगलादेश नेपालका लागि हद भन्दा बढी 'सजिलो प्रतिद्वन्द्वी' त बनेन ? प्रश्नहरु त उब्जिने नै भए । किनकी जितमा केहि देखिदैन तर हारमा सबथोक देखिन्छ । हाइप यति बढेको थियो कि खेलाडीमा हामीले हार्नै हुन्न त्यो छुट हामीलाई छैन भन्ने मानसिकता बसिसकेको थियो । त्यसैले पहिलो गोल पछि नेपाली खेलाडीले आफ्नो मानसिकता धरमराउन थाले ।
खेलाडीमा एक्सपोजरको कमी -
१५ हजार दर्शक । रात्रीकालिन फुटबल । साफ फाइनल जस्तो इभेन्ट । यो कुनै सपना जस्तो थियो धेरै खेलाडीको लागि । यो वातावरणले पनि नेपाललाई फरक पार्यो । धेरैले पहिलो पटक यो वातावरणमा खेल्दै थिए । धेरै त आफ्नै घरेलु समर्थकका अगाडी नर्भस भए होलान । जुन स्वभाविक छ । किनकि यो किसिमको माहोल विरलै हुन्छ महिला फुटबलमा । एउटै घरेलु लिग पनि पुरै नचल्ने फुटबलको लागि एक्कासी यस्तो माहोल कहिलेकाहीँ आफैंलाई घातक हुन्छ ।
बंगलादेशका प्रशिक्षक गोलोमले पनि भनेका छन, 'म खेलाडी हुँदा पनि मोहमेडन–अबाहानीको खेलमा ५० हजार फ्यानका अगाडी खेलेको थिएँ । म ती अनुभवहरूबाट तयार थिएँ । केटिहरूले पनि यसमा कुनै समस्या भोग्नुपरेको छैन । हामीलाई थाहा थियो यदि उनीहरूले पहिलो गोल खाए भने नेपाल दबाबमा हुनेछ । अनि त्यही भयो । फाइनलअघि नेपालले तीन खेल खेलेको थियो भने हामीले चार खेल खेल्यौं । केटीहरूको फिटनेस र दृढ संकल्प, वास्तवमै यो उत्कृष्ट थियो ।'
सेट नभएको सिस्टम-
सात दिनमा के सिस्टम बनाउने ? अधिकांश खेलाडी त एकअर्कालाई धेरै चिनेकै छैनन् । खेल भन्दा धेरै अभ्यास मात्र गरेका छन् । फुटबल कम्बिनेसनको खेल हो । यो कम्बिनेसन नेपाल मिस गर्दै थियो । उदाहरणका लागि फाइनलमा अमृता र अनिता बस्नेतबीचको मिस कम्युनिकेसनुले नेपाल धेरै बल लुज गर्दै थियो ।
कुमारले पहिल्यै भनेका थिए । हामीले हाम्रो विङ्गमा धेरै विश्वास गर्न सक्दैनौँ किनकि दुवै फल्याङक इमरजेन्सी बनाइएको थियो । त्यसैले दुई अनितालाई यता उता स्विच गरिरहनुपर्ने बाध्यता । जहाँ धेरै फुटबल गतिविधि हुँदैन त्यहाँ सिस्टम बनाउने काम कठिन हुन्छ । सिस्टम नभए कम्बिनेसन कसरि मिल्नु ?
यी त सबैभए नेपालले खेल गमाएका कारण अब जाउँ वास्तविकता तर्फ । बंगलादेश साँच्चै योग्य विजेता थियो ।
बंगलादेशको महत्वाकांक्षा -
बंगलादेशको बारेमा उनीहरुको प्रगति, महत्वाकांक्षाको बारेमा धेरै पटक चर्चा भईरहेको छ । त्यही शिलशिलाको एक पाटो मात्र हो साफको फाइनल । प्रशिक्षक गोलोम रबानिलाई किन बंगलादेशी महिला फुटबलको अग्रणी व्यक्तित्व मानिन्छ भन्ने उनले देखाएका छन् । पहिलो पटक च्याम्पियन बनेर ।
सन् २००९ देखि विभिन्न उमेर समूहबाट नै हुर्काउदै, मलजल गर्दै ल्याएको उनको यो टोलीले अन्तत:साफ जितेर उनलाई उनको जीवनकै सबैभन्दा ठुलो उपहार दिएको छ । यसका लागि उनीहरुले धेरै वर्ष तपस्या गरेका छन् ।
उनीहरुको सफलताको यात्रा पूरा भयो । उनीहरूका लागि यो सजिलो थिएन । आफ्नो परिवार र समाजको आलोचनाको सामना गर्नुदेखि कट्टरपन्थीहरूको विरोधको सामना गर्नु, प्रायोजकहरूको चासोको कमी, जस्ता सबै नकारात्मकलाई बंगलादेशका महिला फुटबलरहरूले जिते । यहा केहि महत्वपुर्ण टाइमलाइन छन् जसले देखाउँछ की बंगलादेश कुन महत्वाकांक्षाको साथ साफको उपाधिको लागि तयारी गरिरहेको थियो ।
अक्टोबर ४, २००४ : कमलापुर रंगशालामा आठ टोलीको सहभागितामा पहिलो पटक बंगलादेशमा महिला फुटबल सुरू भयो ।
अक्टोबर २४, २००८ : १२ टोलीको ढाका महानगर महिला विद्यालय फुटबल प्रतियोगिता सुरु भयो। विद्यालयका छात्राहरुको लागि यो पहिलो प्रतियोगिता थियो । यहाँबाट नै उनिहरुले ग्रासरुट शैली अपनाए । अहिलेको टिममा भएका अधिकांश खेलाडी यिनै स्कुल लिगबाट विकास हुँदै आएका हुन् ।
जनवरी २९, २०१०: बंगलादेशी महिला टोलीले पहिलो पटक दक्षिण एसियाली खेलकुद फुटबल प्रतियोगितामा भाग लियो । पहिलो खेलमा नेपालसँग पराजित भएको थियो र यो बंगलादेश राष्ट्रिय महिला टोलीको पहिलो अन्तर्राष्ट्रिय खेल थियो ।
अक्टोबर १५, २०१४ : बंगलादेशले पहिलो पटक एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोटमा भाग लियो। उनीहरूले उद्घाटन खेलमा जोर्डनलाई १-० ले हराए, दोस्रोमा युएईलाई ६-० ले हराएपछि इरानसँग हारेर क्वालिफायरबाट बाहिरियो। बंगलादेश महिला फुटबलको इतिहासमा यो टर्निङ प्वाइन्ट बन्यो। ६ वर्ष पहिले सुरु गरेको स्कुल लिगको इम्प्याक्ट यहाँ आएर देखिन्छ ।
डिसेम्बर २०, २०१५ सम्म आइपुग्दा बंगलादेशले एएफसी यू(१४ गर्ल्स क्षेत्रीय (दक्षिण र मध्य) च्याम्पियनसिपमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेर इतिहास रच्यो। फाइनलमा नेपाललाई १–० ले हराएको थियो । प्रतियोगितामा इरान, भारत, भुटान, माल्दिभ्स र श्रीलंकाको पनि सहभागिता थियो । उनीहरुको ग्रासरुटको लगानीले प्रभाव देखायो । यतिबेलासम्म उमेर समूहमा बंगलादेश सबैभन्दा बलियो बनिसकेको थियो। २०१६ सम्म आइपुग्दा उनीहरुको साफ फाइनल खेल्ने स्तर बन्यो ।
२०२१ को डिसेम्बरमा बंगलादेश साफ यू-१९ च्याम्पियनको बन्यो । यसको मतलब उमेर समूहमा उनीहरुले दबदबा देखाए । एकवर्ष भित्र अहिले बंगलादेश महिलाले इतिहासमा पहिलो पटक साफ च्याम्पियनसिप जितेको छ ।
यहाँ सबैभन्दा महत्वपूर्ण पोइन्ट एउटै छ । धैर्यता । बंगलादेशले २०१६ को साफ फाइनलपछि आक्रामक फुटबल विकास गर्यो । लक्ष्यमा अडिग रहेर योजनावद्ध काम गर्यो । अन्तत: सफलता ।
प्रशिक्षक गोलोम रब्बानि छोटनको दृढता -
यी सबैको पछाडी यदि कोही साक्षी र सारथी कोहि छ भने त्यो नाम हो गोलोम रब्बानि छोटन । उनै गोलोम रब्बानि छोटन सन् २००९ देखि यहि टोलीलाई मलजल गरिरहेका प्रशिक्षक हुन् । बंगलादेशमा महिला फुटबलको यात्रा सुरु हुँदा फुटबलरहरूले मात्रै होइन, मुख्य प्रशिक्षक गुलाम रब्बानी छोटनले धेरै विरोध र उपहासको सामना गर्नुपरेको थियो। उनी गोलोम जसले यो सबै देखेका छन्, एक प्रशिक्षक जो पहिलो दिनदेखि बंगलादेश महिला टिमसँग थिए, जब यो सबै सुरु भयो । आफ्ना साथीहरूबाट समेत उनलाई व्यंग्यात्मक रूपमा 'महिला प्रशिक्षक' भनेर जिस्काइन्थ्यो ।