काठमाडौं । भारतले युएईमा जारी एसिया कप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
दुबईमा बुधबार राति हङकङलाई ४० रनले हराउँदै भारतले लगातार दोस्रो जित निकालेको हो ।
यस जितसँगै भारतले सुपर ४ मा स्थान बनाएको छ । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो।
भारतले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ बनाउन सक्यो। उसका लागि बाबर हायातले ३५ बलमा ३१ तथा किन्चित शाहले २८ बलमा ३० रन बनाए।
जिशन अलिले १७ बलमा अविजित २६ रन तथा अजाज खानले १४ रन बनाए। स्कट म्याकिन्चीनीले ८ बलमा अविजित १६ रन तथा कप्तान निजाकत खानले १० तथा यासिम मुर्ताजाले ९ रन बनाए ।

भारतका लागि भुवनेश्वर कुमार, आबेश खान,रविन्द्र जडेजा र अर्शदिप सिंहले समान १/१ विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट १ सय ९२ रन बनायो । भारतका लागि सुर्यकुमार यादव र विराट कोहलीले अविजित अर्धशतक बनाए ।
यादवले २६ बलमा ६८ तथा कोहलीले ४४ बलमा ५९ रन बनाए ।

केएल राहुलले ३६ तथा रोहित शर्माले २१ रन बनाए ।
हङकङका लागि अयुस शुक्ला र मोहम्मद घजान्फरले समान १/१ विकेट लिए ।
यस जितसँगै समूह ‘ए’ को भारतको २ खेलबाट ४ अंक जोडेको छ । भारत समूहको शीर्ष स्थानमा रहेको छ ।